महासचिव पोखरेलको कडा टिप्पणी : ‘गैरदलीय सरकारमा दल खडा गर्ने मन्त्री कसरी स्वीकार्य ?’
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले आफूलाई गैरदलीय चुनावी सरकार भनेर प्रस्तुत गर्दै आएको सन्दर्भमा, मन्त्री पदमा रहेका व्यक्तिले नै नयाँ दल गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेपछि राजनीतिक वृत्तमा छलफल तीब्र भएको छ । यही प्रसंगलाई सम्बोधन गर्दै एमाले महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमार्फत कडा प्रश्न उठाएका छन् ।
पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्-“गैरदलिय सरकार बनाएको दाबी गर्ने प्रधानमन्त्रीले आफै पार्टी खोलेर चुनावमा जाने तयारी गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उपयुक्त कसरी ? यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक रूपमा न्यायोचित हुँदैन, न प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल नै खान्छ । त्यस्तो भए त्यसविरुद्ध तुरुन्त निर्णय हुनुपर्छ।”
उनको भनाइमा गैरदलियताको मर्म नै राजनीतिक रूपमा स्वतन्त्र, निष्पक्ष र निर्विवाद व्यक्तित्वहरूको सहभागितामा सरकार सञ्चालन गर्नु हो तर दल गठन र चुनावी प्रतिस्पर्धाको तयारी गरिसकेको व्यक्तिलाई मन्त्री पदमा निरन्तरता दिनु ‘गैरदलियता’ को मूल सिद्धान्तसँगै टकरिने व्यवहार हो ।
पोखरेलले प्रधानमन्त्रीप्रतिको जनविश्वास जोगाउन तत्कालै आवश्यक कदम चाल्नुपर्ने सुझाव पनि दिएका छन् । “नैतिक रूपले प्रश्न उठ्ने व्यक्तिलाई संरक्षण गर्नु गैरदलिय सरकारको छायाँ मात्र होइन, चुनावी निष्पक्षतामाथि पनि शंका पैदा गर्ने कुरा हो,” उनको टिप्पणी छ ।
पोखरेलको उठाएकाे विषयले सरकारको नैतिकता तथा चुनावी मध्यस्थताबारे नयाँ बहस सुरुआत गरेको छ। अब प्रधानमन्त्री कार्कीले के निर्णय लिन्छिन् भन्नेप्रति राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।









