१९ मंसिर २०८२, शुक्रबार

गणतन्त्र नै उत्तम व्यवस्था होः मुख्यमन्त्री बानियाँ

प्रकाशित मिति :  16 November, 2025 4:43 pm


काठमाडाैँ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालका लागि सबैभन्दा उपयुक्त राजनीतिक व्यवस्था भएको बताएका छन् ।

बाग्मती प्रदेश सरकारले आइतबार आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रः चुनौती र अवसर’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले गणतन्त्रले गरिब–विपन्न परिवारको सन्तानदेखि कुनै पनि साधारण नागरिकलाई देशको सर्वोच्च जिम्मेवारी सम्हाल्ने अवसर दिने उल्लेख गरे।

मुख्यमन्त्री बानियाले वर्तमान राजनीतिक प्रणालीले व्यक्ति परिवर्तन, दल परिवर्तन तथा मन परेको राजनीतिक दल र उम्मेदवारलाई भोट हाल्ने स्वतन्त्रताको सुनिश्चितता गरेको बताउँदै यति समावेशी र समानुपातिक व्यवस्था संसारमै दुर्लभ रहेको टिप्पणी गरे । नेपालको संविधानले सबै वर्ग, समुदाय, भाषा–संस्कृति र धर्मका नागरिकलाई प्रतिनिधित्वको सुनिश्चितता गरेको उनको भनाइ थियो।

तर संविधानका केही प्रावधानका कारण अस्थिरता बढ्दै गएको उल्लेख गर्दै उनले ती प्रावधानहरू सुधार गरेर शासन प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउनु आवश्यक रहेको बताए । अस्थिरता र बढ्दो भ्रष्टाचारकै कारण भदौ २२ र २३ गते देखिएको जेन–जी आन्दोलनरूपी ‘अकल्पनीय अप्राकृतिक प्रकोप’ उत्पन्न भएको उनले स्मरण गरे । लामो समयदेखि एउटै नेतृत्व र अनुहारले मुलुक चलाइरहँदा अपेक्षित परिवर्तन हुन नसकेकामा उहाँले चिन्ता व्यक्त गरे ।

सोचेअनुसार मुलुक अगाडि नबढेको र जेन–जी पुस्ताले सामाजिक सञ्जालदेखि दैनिक जीवनसम्म भ्रष्टाचार र अन्य समस्याको गहिरो पीडा महसुस गरिरहेको समयमै, उनीहरूले द्रुत रुपमा आवाज उठाउँदा उत्पन्न परिस्थिति नयाँ सरकार निर्माणसम्म पुग्न कारण बनेको मुख्यमन्त्री बानियाले स्पष्ट पारे। अब सबै राजनीतिक पक्षबीच संवादमार्फत आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु समयको आवश्यकता भएको उनको भनाइ थियो।

आगामी निर्वाचनमा जेन–जी पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले वागमती प्रदेशले बनाउने नीतिनियम र योजनाहरूमा युवा पुस्तालाई प्राथमिकतासहित समेटिने र आर्थिक अनुशासनमा विशेष ध्यान दिइने जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !