संसद पुनःस्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छः एमाले उपाध्यक्ष पौडेल
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसका विरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् ।
आज पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन संविधानमिाथिको आक्रमण भएको जिकिर गरे ।
उनले अनधिकृत रुपमा संसद विघटन गरेर संसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताए ।
उपाध्यक्ष पाैडेलले जनतालाई सङ्गठित गर्दै प्रतिनिधि सभा पुनःस्थापनाका लागि निर्णायक आन्दोलन सुरु गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि बताए ।
उनले भने, “गत भदौ २३, २४ को सिरानी हालेर देशमा जुन प्रकारको प्रतिगमन भएको छ यो प्रतिगमनको विरुद्धमा आन्दोलनमा जानुपर्ने, सडकमा उत्रिनुपर्ने जिम्मेवारीमा छौँ ।”
उनले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाका विषयमा पार्टी आन्तरिक छलफलमा जुटिरहेको समेत बताए ।








