१९ मंसिर २०८२, शुक्रबार

एमालेले ‘नेशनल भोलिन्टियर फोर्स’ घोषणा गर्दै : नीति–नेतृत्व सुरक्षा मुख्य जिम्मेवारी

प्रकाशित मिति :  21 November, 2025 8:17 am


काठमाडौँ । नेकपा एमालेले पार्टीको नीति तथा शीर्ष नेतृत्वको सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसहित नेशनल भोलिन्टियर फोर्स (एनभीएफ) घोषणा गर्न लागेको छ ।

यसका लागि आज माइतीघर मण्डलामा युवा भाेलिन्टियरलाई भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने, त्यसपछि बबरमहलस्थित कार्की बैंक्वेटमा औपचारिक घोषणा सभा गर्ने तयारी गरिएको छ।

एमालेका जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढ्दो असुरक्षा, अशान्ति र भदौ २३–२४ का घटनापछि आम नागरिकको गिरिरहेको मनोबल उठाउन एनभीएफ गठनको आवश्यकता परेको हो।

ढकालका अनुसार यो फोर्सले राज्यका सुरक्षानिकायलाई सहयोग गर्ने, जनतालाई भय–असुरक्षाबाट मुक्त गर्न सहयोग पुर्‍याउने, तथा प्राकृतिक विपत् पर्दा राहत तथा उद्धारमा सक्रिय हुने लक्ष्य लिएको छ।

आज विहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोर्सको औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। हाल सुरक्षासम्बन्धी संवेदनशीलता बढिरहेका बेला राज्यले अध्यक्ष ओलीसहित केही नेताका सुरक्षाकर्मी फिर्ता लिएको विषयलाई समेत एमालेले गम्भीर रूपमा लिएको र त्यसैले फोर्स गठनको आवश्यकता अनुभूत भएको बताइएको छ।

एनभीएफमा एकजना कमान्डर र दुईजना सहायक कमान्डर रहने संरचना तय गरिएको छ। ढकालका अनुसार फोर्सको प्रदेश र जिल्लागत संरचना पनि छिट्टै विस्तार गरिनेछ।



प्रतिक्रिया दिनुहोस !