एमालेको स्वंसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो- अध्यक्ष ओली
काठमाडाैँ । नेकपा एमालेले घोषणा गरेको नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) को कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रले मात्र सार्वजनिक संरक्षा सुनिश्चित गर्न नसकेको धारणा सार्वजनिक गरेका छन् ।
उनका अनुसार पार्टीले गठन गरेको फोर्स कुनै राजनीतिक प्रतिद्वन्द्वीलाई लक्षित नभई देशमा फैलिँदै गएको हिंसा, अराजकता र तोडफोडको प्रवृत्तिको प्रतिरोधका लागि आवश्यक वैकल्पिक संयन्त्र हो ।
अध्यक्ष ओलीले जनता, जनधन, औद्योगिक प्रतिष्ठान र मिडिया हाउससम्मलाई सुरक्षा दिन राज्यको क्षमता सीमित देखिएको भन्दै फोर्स गठनलाई ‘पूरक नागरिक संरचना’का रूपमा व्याख्या गरे । उनले यस्तो फोर्सले राजनीतिक गतिविधिमा हस्तक्षेप गर्ने होइन, शान्ति र स्थिरता कायम गर्न सहयोग गर्ने दाबी गरे ।
भदौ २३ र २४ का घटनाको उदाहरण दिँदै ओलीले ‘जेन जीको नाममा बनेका नक्कली समूह’ले तोडफोड र आगजनी मच्चाएको आरोप लगाए ।
एमालेलाई आरोप लाग्दै आएको ‘मिलिसिया–स्टाइल’ गतिविधिको आरोपलाई असर रहित पार्न उनले फोर्सलाई न त ‘पेइड’ संरचना भए न त ‘अराजकतावादी प्रतिक्रिया समूह’ भएको स्पष्ट पार्न प्रयास गरे ।
फोर्सले एमाले समर्थकको मात्र सुरक्षा गर्ने भन्ने आलोचनालाई खण्डन गर्दै ओलीले यसले एमालेसँग असहमत राख्ने नागरिकको पनि ज्यान–धनको सुरक्षा गर्ने बताए ।
यसलाई एमालेले फोर्सलाई ‘पार्टीभन्दा माथिको नागरिक सेवा संरचना’का रूपमा देखाउन खोजेको रणनीतिक सन्देशको रूपमा विश्लेषण भइरहेको छ।
कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत प्रत्यक्ष टिप्पणी गर्दै सरकार असफल भए विद्रोह हुन सक्छ भन्ने अभिव्यक्ति ‘योजना हो कि सपना’ भनेर प्रश्न गरे ।
उनले यस्तो अभिव्यक्ति आफैँमा अस्थिरतामूलक संकेत भएको उल्लेख गर्दै सरकारद्वारा देशमा विध्वंस बढ्ने संकेत दिनु गैरजिम्मेवार व्यवहार रहेको टिप्पणी गरे ।
यसैबीच, बबरमहलमा जारी फोर्स घोषणा कार्यक्रममा संरचना, दायित्व, परिचालन मोडेल र आपतकालीन अवस्थाका जिम्मेवारीबारे थप विवरणहरु प्रस्तुत भइरहेको बताइएको छ।
एमालेले यो फोर्सलाई प्राकृतिक विपत्तिदेखि नागरिक सेवा, भौतिक संरचना सुरक्षा र सामाजिक अनुशासनसम्मका क्षेत्रमा सक्रिय गराउन इच्छुक रहेको संकेत गरेको छ ।








