१९ मंसिर २०८२, शुक्रबार

प्रतिगामी कदमविरुद्धको जनपरिचालन अन्तिम चरणमा : एमालेले आज काठमाडौँमा जनसभा गर्दै

प्रकाशित मिति :  22 November, 2025 10:45 am


काठमाडौँ । नेकपा एमालेले प्रतिगामी षड्यन्त्रका विरुद्ध सुरु गरेको देशव्यापी जनपरिचालनको प्रथम चरण आज काठमाडौंमा हुने विशाल जनसभासँगै समापन हुँदैछ ।

भदौ २३ र २४ मा भएको विध्वंसपछि प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक रूपमा गरिएको भन्दै एमालेले कात्तिक २२ गतेदेखि वडा तहदेखि नै क्रमबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको जनसभाले प्रतिनिधिसभा पुनःस्थापनालाई मुख्य एजेन्डा बनाएको छ ।

बागमती प्रदेश कमिटीद्वारा आयोजना गरिएको जनसभा काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। एमालेका नेता–कार्यकर्ता, जनसंगठन तथा सम्पर्क समन्वय समितिहरूको सहभागितामा र्याली प्रदर्शनीमार्गबाट सुरु भई रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ ।

जनसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको गौतमले जानकारी दिए । एमालेले असोज ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा जनपरिचालन अभियानका चरणहरू तय गरेको थियो ।

त्यसअनुसार कात्तिक २२ गते देशभरका वडामा वडा भेला, कात्तिक २५ गते सबै पालिकामा पालिकास्तरीय र्याली, कात्तिक २९ गते सबै जिल्लामा जिल्ला स्तरीय जनसभा सम्पन्न भइसकेका छन् ।

गौतमका अनुसार आजको कार्यक्रमपछि जनपरिचालनको पहिलो चरण औपचारिक रूपमा सकिनेछ। त्यसपछि मंसिर २७ गते ११औं महाधिवेशन उद्घाटनका अवसरमा फेरि काठमाडौंमा विशाल जनसभा आयोजना गरिनेछ।

उता, एमालेले देशभरका जिल्ला तथा स्थानीय कमिटीहरूले आवश्यक ठानेमा प्रतिगामी कदमविरुद्ध आफ्ना तर्फबाट पनि आन्दोलनका कार्यक्रम सञ्चालन गर्न सक्ने जनाएको छ ।

पार्टीले पछिल्ला राजनीतिक घट्नालाई संविधान र लोकतान्त्रिक प्रक्रियामाथिको आक्रमणका रूपमा अर्थ्याउँदै सडक तथा संगठनगत सक्रियता निरन्तरता दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !