समस्या समाधाका लागि प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य-महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै यसको पुनःस्थापना तत्काल आवश्यक रहेको टिप्पणी गरेका छन् ।
फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले भने- “अहिलेको सरकार न त निर्वाचनतर्फ अग्रसर छ, न त निर्वाचनका लागि आवश्यक वातावरण बनाउन इच्छुक देखिएको छ ।”
पोखरेलका अनुसार एमाले लोकतान्त्रिक पद्धतिलाई जीवनशैलीका रूपमा आत्मसात गर्ने पार्टी भएकाले निर्वाचन आयोगमा दल दर्ता अद्यावधिक रूपमा हुँदै आएको हो ।
राष्ट्रसभा र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटीको निर्णयअनुसार गरिएको उनले स्पष्ट पारे ।
उने निर्वाचन आयोगमा दल दर्ता भएकै आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भएको दाबीलाई “भ्रमपूर्ण” भने।
उनकाे शब्दमा, “दल दर्ता भएको भन्दै निर्वाचन सुनिश्चित भयो भन्नु वास्तविकतासँग मेल खाँदैन। अहिलेको सरकारका गतिविधि हेर्दा न चुनाव गर्न चाहेको छ, न चुनावका लागि वातावरण बनाउन कुनै संकेत छ।”
पोखरेलले अहिले सरकारका काम–कारबाही राजनीतिक दलहरूलाई कमजोर बनाउने, नागरिकलाई भय, असुरक्षा र अराजकताको वातावरण सिर्जना गर्ने दिशामा केन्द्रित देखिएको आरोप पनि लगाए ।
उनका अनुसार २३ र २४ गतेका घटनाले संविधानलाई “घाइते” बनाइदिएको छ र त्यसलाई पुनःक्रियाशील बनाउन प्रतिनिधि सभाको पुनःस्थापना अपरिहार्य छ ।
उनी भन्छन्-“जेनेरेशन–जेडको भावनालाई सम्बोधन गर्न, लोकतन्त्रलाई सही बाटोमा फर्काउन र संविधानलाई आफ्नो मूल रूपमै कार्यान्वयन गर्न प्रतिनिधि सभा पुनर्स्थापना अत्यावश्यक छ ।” यस समग्र प्रसङ्गको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा जारी रहेको छ।








