१९ मंसिर २०८२, शुक्रबार

उपमहासचिव ज्ञवालीद्वारा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अभिव्यक्तिमाथि गम्भीर प्रश्न

प्रकाशित मिति :  26 November, 2025 11:38 am


काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति–सुरक्षाबारे दिएको अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्ञवालीले संवेदनशील पदमा रहेका व्यक्तिबाट निर्वाचन सुरक्षा जस्तो गम्भीर विषयमा ‘गैरजिम्मेवार टिप्पणी’ आएको बताए ।

भण्डारीले हालै दिएको अभिव्यक्तिमा “हजारौँ लडाकु र हतियार बाहिरै राखेर पनि निर्वाचन गराएको देशमा केही हतियार बाहिर भएको कारण चुनाव हुन सक्दैन भन्नु गलत हो” भन्ने आशय व्यक्त भएको बताइएको छ।

यसै सन्दर्भमा ज्ञवालीले राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वको अन्त्यका लागि स्थापित विशेष व्यवस्थाको तुलना, आपराधिक उद्देश्यले भएको हतियार लुटपाटसँग गर्नु ‘हास्यास्पद’ भएको टिप्पणी गरे ।

उनले लेखेका छन् , “एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ।”

ज्ञवालीले माओवादी कालीन हतियार व्यवस्थापन प्रक्रियाको स्मरण गराउँदै ती हतियार दुईवटा चाबी प्रणालीसहित कन्टेनरमा राखिएको, २८ वटा शिविरमा लडाकुहरूलाई सीमित गरिएको र यो सबै कार्य संयुक्त राष्ट्रसंघ (अनमिन) को निगरानीमा भएको जानकारी प्रमुख आयुक्तलाई ‘थाहा हुनुपर्ने’ टिप्पणी गरे ।

उनले संविधान सभापूर्वकै निर्वाचनमा लडाकु र हतियार दुवैको दुरुपयोगसमेत भएको इतिहास उल्लेख गर्दै भने,
“संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति–सुरक्षाजस्तो सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्ति आउने अपेक्षा थिएन।” ज्ञवालीको यो टिप्पणीसँगै निर्वाचन सुरक्षाको विषय पुनः राजनीतिक वृतमा चर्चामा आएको छ।



प्रतिक्रिया दिनुहोस !