लुम्बिनी प्रदेशसभा सदस्य रेवती गुरुङले लिइन् पद तथा गोपनीयताको शपथ
दाङ । लुम्बिनी प्रदेशसभा सदस्य रेवती गुरुङले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष गुरुङले साेमबार शपथ लिएकी हुन् । रुकुम पूर्वकी समानुपातिकतर्फ प्रदेशसभा सदस्य सरिता पुनको निधनपछि रिक्त पदमा गुरुङ नियुक्त भएकी थिइन् ।
पुनले नेकपा एमालेबाट प्रतिनिधित्व गर्थिन् । रुकुमपूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो ।
पुनको निधनपछि रिक्त पदमा प्रदेश सभा सदस्य बनेकी गुरुङ रुपन्देहीको देवदह नगरपालिका–५ निवासी हुन् ।
निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो ।
गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी र प्राथमिकता सूचीको पहिलो स्थानमा परेकाले प्रदेश सभा सदस्य बनेकी हुन् ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त हुने व्यवस्था छ ।








