एमाले जेनजी पुस्ताको रियल लिडर हो-विष्णुप्रसाद पौडेल
काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो समय “जेन–जी” पुस्ता चर्चा र प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ। यही सन्दर्भलाई उपयोग गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीलाई जेन–जी उमेर समूहको ‘रियल लिडर’ भनेर दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेन–जीलाई समर्थन गर्ने पार्टी को हो भन्ने बहस अब राजनीतिक वृत्तमै महत्वपूर्ण बनेको उल्लेख गरे ।
पौडेलको भनाइ अनुसार, जेन–जीको आकांक्षा, अपेक्षा र न्यायिक मागहरू एमालेले विगतमा पनि सम्बोधन गर्दै आएको छ र भविष्यमा पनि त्यसैगरी अघि बढ्नेछ । उनका अनुसार एमाले सबै उमेर समूहको प्रतिनिधित्व गर्ने पार्टी भएकाले जेन–जीका मुद्दा आफैँमा पार्टीको एजेन्डा हुन् ।
उनले भने, “जेन–जी पुस्ताको रियल लिडर पनि एमाले नै हो। उनीहरूको जायज माग र आकांक्षाको विपक्षमा एमाले थिएन, छैन र रहने पनि छैन ।”
यो अभिव्यक्ति भित्र जेन–जी पुस्तालाई आफ्नो पक्षमा तान्ने राजनीतिक दौड तीव्र बन्दै गएको संकेत देखिन्छ। हाल विश्वभरै जस्तै नेपालमा पनि युवापुस्ताको प्रभाव बढ्दै जाँदा दलहरूले आफ्नो रणनीति पुनः व्याख्या गर्न थालेका छन्।
यता, उपाध्यक्ष पौडेलले सरकारले आसन्न निर्वाचनका लागि आवश्यक वातावरण तयार गर्न नसकेको आरोप पनि लगाए । निर्वाचन नजिकिँदै गर्दा यस्तो प्रकारका अभिव्यक्तिले राजनीतिक धुव्रीकरण अझ तीक्ष्ण बन्दै गएको विश्लेषकहरूको टिप्पणी छ ।








