उज्यालो नेपालप्रति कटाक्ष गर्दै महासचिव पोखरेलको प्रश्न- योजनाको श्रेय उसलाई कहिले ?
दाङ (देउखुरी)। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङ नेतृत्वमा हिजो घोषणा भएको उज्यालो नेपाल पार्टी प्रति लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले नेपाललाई लोडसेडिङ मुक्त बनाउने मूल योजना अर्कैले तयार पारेको भए पनि श्रेय भने निरन्तर गलत व्यक्तिलाई दिइने गरेको आरोप लगाएका हुन् ।
महासचिव पोखरेलका अनुसार २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाउने योजना अघि सारेका थिए ।
सोही निर्देशनअनुसार ऊर्जा क्षेत्रका निकायहरूले कडाइका साथ योजना कार्यान्वयन थालेको र २०७३ कात्तिकबाट नेपाल आधिकारिक रूपमा लोडसेडिङमुक्त घोषित भएको उनको भनाइ छ।
यद्यपि, पछिल्ला वर्षमा यो अभियानको श्रेय घिसिङलाई दिइँदै आएको र उनी ‘उज्यालो नेपालका अभियन्ता’का रूपमा प्रचारित गरिएको पोखरेलको आरोप छ। तर वास्तविक योजनाकार र अभियानका मुख्य कार्यान्वयनकर्ता ओली स्वयं रहेको उनको दाबी छ।
विद्युत प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरेपछि महासचिव पोखरेलले विहानै सामाजिक सञ्जालमा कटाक्ष गर्दै “जसको योजना, उसलाई श्रेय दिने कहिले ?” भन्ने प्रश्न उठाएका हुन् । उक्त टिप्पणीले राजनीतिक वृत्तमा पुनः ‘लोडसेडिङ अन्त्यको श्रेय’ विषयलाई चर्चामा ल्याएको छ।








