निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय तोक्यो
काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय निर्वाचन आयोगले तोकेको छ ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन पेश गर्नुपर्नेछ ।
आयोगले सार्वजनिक सूचना जारी गर्दै निर्धारित मितिमा कार्यालय समयभित्र बहादुर भवन, कान्तिपथस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने दलले समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन तयार गरी पेश गर्नुपर्ने आयोगले स्पष्ट गरेको छ ।
निवेदन पेश गर्दा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयअनुसार अधिकार प्रदान गरिएको पदाधिकारीले हस्ताक्षर गर्नुपर्नेछ ।
आयोगले विज्ञप्तिमा भनेको छ, “उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक पर्ने छैन ।”
निर्वाचन नजिकिँदै गर्दा आयोगले दलहरूको तयारीलाई व्यवस्थित गर्न समय तालिका सार्वजनिक गरेको हो । अब दलहरूले म्यादभित्र बन्द सूची तयार गरी पेस गर्नुपर्नेछ ।








