२० मंसिर २०८२, शनिबार

लामो इतिहास भएका दल कहिल्यै पुराना हुँदैनन्-महासचिव पोखरेल

प्रकाशित मिति :  6 December, 2025 6:48 am


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लामो इतिहास बोकेका राजनीतिक दलहरू समयसँगै अद्यावधिक हुँदै अघि बढ्ने भएकाले कहिल्यै पुराना नहुने बताएका छन् । पार्टीको ११औं महाधिवेशनको संघारमा रहेका बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

पोखरेलका अनुसार इतिहाससम्पन्न दलहरूको सार्थकता उनीहरूको निरन्तर सुधार, नेतृत्व रूपान्तरण र समयअनुरूप नीति अद्यावधिक गर्ने क्षमतामा निर्भर हुन्छ ।

उनले लेखेका छन्, “लामो इतिहास भएका राजनीतिक दलहरू कहिल्यै पुराना हुँदैनन्, किनकि उनीहरू समय अनुसार नीति र नेतृत्व अद्यावधिक गर्दै अघि बढ्ने गरेका हुन्छन् ।”

उनको टिप्पणी हालका वर्षहरूमा एमालेलगायत नेपाली कांग्रेसलाई ‘पुराना दल’ भन्ने आलोचनाप्रति प्रतिक्रियाजस्तै पनि देखिएको छ ।

महासचिव पोखरेलले महाधिवेशनमार्फत दलहरूले नेतृत्व, विचार र नीतिमा निरन्तर नवीनता ल्याउँदै आएको उल्लेख गर्दै यही प्रक्रियाले दलहरूलाई समयअनुकूल सक्षम र जीवन्त बनाइराख्ने बताए ।

आगामी महाधिवेशनले नीति तथा नेतृत्व दुवै तहमा आवश्यक अद्यावधिक हुने उनको संकेतले पार्टीभित्र नयाँ ऊर्जा थपिएको टिप्पणी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !