२१ मंसिर २०८२, आइतबार

८८ दिनको काउन्टडाउन : निर्वाचन आयोग र दलहरूको रणनीतियुद्ध एकैसाथ

प्रकाशित मिति :  7 December, 2025 6:41 am


दाङ (देउखुरी) । प्रतिनिधिसभा निर्वाचन अब ८८ दिनको दूरीमा छ । कागजी मिति नजिकिंदै जाँदा निर्वाचन आयोग मात्र होइन, राजनीतिक दलका रणनीति–मन्त्रालयहरू पनि आफ्नै तरिकाले ‘इलेक्शन मोड’मा प्रवेश गरिसकेका छन् ।

आयोगले एकातिर क्यालेन्डर कडाइका साथ अघि बढाएको छ भने दलहरू अर्कोतिर उम्मेदवार छनोटदेखि मतदाता हिसाब–किताबसम्म गोप्य गृहकार्यमा व्यस्त देखिन्छन् ।

समानुपातिक कार्यक्रम : दलहरूको संगठन शक्ति परीक्षण हुने दिन

आयोगले आजैदेखि समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी प्रक्रिया सुरु गर्दैछ। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आवेदन दिने समय तोकिएको यो चरणले दलहरूको संगठन क्षमता र कागजी तादात्म्य दुवैलाई परीक्षण गर्छ ।

आवेदन दिनेहरूको औपचारिक सूची भने मंसिर २४ गते सार्वजनिक हुनेछ-यही दिनबाट समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने ‘सत्तरी–उम्मेदवारको आन्तरिक खेल’ खुलेर सुरु हुने संकेत मिल्छ ।

पुस १३ र १४ गते दलहरूले बन्दसूची प्रस्तुत गर्नेछन् । यो त्यो क्षण हो, जहाँ दलको आन्तरिक शक्ति–सन्तुलन, पहिचान राजनीति, महिला–समावेशीकरण र क्षेत्रीय प्रतिनिधित्व सबै जोडिएर ‘एक कागज’मा प्रतिबिम्बित हुन्छ । माघ ३० मा प्रकाशित हुने अन्तिम बन्दसूची मूलतः दलको वैचारिक र सामाजिक प्रतिबद्धताको सार्वजनिक प्रमाणपत्रजस्तै हुनेछ ।

प्रत्यक्षतर्फ : उम्मेदवार छनोटभन्दा बढी ‘क्षेत्र कब्जा’को प्रतिस्पर्धा

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० सिट समानुपातिक, बाँकी १६५ सिट प्रत्यक्षबाट छानिन्छन् । प्रत्यक्षतर्फ उम्मेदवार दर्ता माघ ६ गते हुने कार्यक्रम छ, तर वास्तविक प्रतिस्पर्धा अहिले नै सुरु भइसकेको छ ।

क्षेत्रमै छिमेकी, साथी वा पुराना कार्यकर्ता कसको साथमा छन्-यी सूक्ष्म समीकरणहरूले दलभित्रै ठूलो हलचल मच्चाइरहेका छन् ।

माघ ७ मा उम्मेदवारीमा विरोध–उजुरी दिने समय र माघ ८ मा नामावली प्रकाशन हुने कार्यक्रमसहित आयोगले प्रत्यक्ष निर्वाचनलाई ‘कडा शड्युल’मा बाँधेको देखिन्छ । माघ ९ भित्र नाम फिर्ता लिएपछि उम्मेदवारलाई चिह्न प्रदान गरिँदै निर्वाचन अभियान औपचारिक रूपमा सुरु हुनेछ ।

चुनाव नजिकिँदै जाँदा देखिएको मुख्य तस्वीर

आयोगको क्यालेन्डर तीव्र गतिमा : सबै कार्यक्रम स्पष्ट, समयसीमा कडा ।

दलहरू आन्तरिक रूपमा व्यस्त : समानुपातिक बन्दसूचीमा चेहरा कसको ? प्रत्यक्ष सिट कहाँ कसलाई ? यिनै प्रश्नमा दलभित्र ‘सलह–सुझाव’ र ‘खेल’ दुवै चल्दै ।

मतदातामाझ चासो बढ्दै : उम्मेदवार घोषणा नजिकिँदै जाँदा स्थानीय स्तरमा ‘को आउने, को छुट्ने’को अनुमानित राजनीति सुरु ।

चुनाव केवल मिति होइन, राजनीतिक नक्सा फेरिने प्रक्रिया

८८ दिनको यो यात्रामा आयोग प्रशासनिकरूपमा तयार हुँदैछ भने दलहरू राजनीतिकरूपमा। समानुपातिकको बन्दसूची र प्रत्यक्षतर्फका उम्मेदवार-यी दुईनै कुराले आगामी पाँच वर्षको संसदको चरित्र तय गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !