ईश्वर पोखरेलको चेतावनी–पुनर्गठन बिना पार्टी प्रभावकारी बन्न सक्दैन
दाङ (देउखुरी) । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
सोमबार अपरान्ह च्यासलस्थित कार्यालयमा आफू पक्षका नेताहरूसहित पुग्नुभएका पोखरेलले महासचिव शंकर पोखरेललाई सो अवधारणा पत्र हस्तान्तरण गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलका अनुसार पार्टी निर्माण, सञ्चालन, सामूहिक नेतृत्व, आन्तरिक नियन्त्रण–सन्तुलन तथा जनताको बहुदलीय जनवादका आधारमा पार्टी कसरी अघि बढ्नुपर्छ भन्ने विषयलाई केन्द्रमा राखी अवधारणा पत्र तयार गरिएको हो । आगामी महाधिवेशनमा उक्त पत्र व्यवस्थित रूपमा प्रस्तुत गरिने उनले बताए ।
महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही ठाउँमा देखिएका समस्या समाधान भइसकेको पनि उनको भनाइ छ। अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष भेटेर अवधारणा पत्र बुझाउने तयारी भए पनि परिस्थितिले अनुकूल नभएकाले केन्द्रीय कार्यालयमै बुझाइएको उनले स्पष्ट पारे ।
पोखरेलले पार्टीका नाममा प्रस्तुत हुने दस्तावेजहरूमा आवश्यक विषयवस्तु समावेश होऊन् भन्ने उद्देश्यले अवधारणा पत्र तयार गरिएको उल्लेख गरे ।
प्रतिनिधि छनोट सामान्यतया विधिसम्मत नै रहे पनि केही स्थानमा विवादित पक्षहरू संगठन विभागमार्फत सच्याइएको उहाँले जानकारी दिए ।
उनका अनुसार, केही जिल्लामा प्रतिनिधि छनोटका क्रममा अस्वस्थ गतिविधि देखिएका तथा ती विषयमा अध्यक्ष ओलीसँग केही दिनअघि भेटेर सुझाव राखिएको थियो ।
आगामी दिनमा पार्टीलाई कसरी विधिसम्मत ढंगले चलाउने, सामूहिक नेतृत्व प्रणालीलाई प्रभावकारी बनाउने, नियन्त्रण–सन्तुलन कायम गर्ने तथा जनताको बहुदलीय जनवादका मार्गदर्शनअनुरूप अघि बढ्ने विषयमा आफूहरूले विस्तृत प्रस्ताव राखेको पोखरेलले स्पष्ट पारे ।
उनले पार्टीको विचार, संगठन तथा कार्यशैलीमा प्रभावकारी पुनर्गठन आवश्यक रहेको पुनः दोहोर्याउँदै, “यदि पुनर्गठन सही ढंगले भएन भने पार्टी यथास्थितिमा रहने वा उल्टो दिशातर्फ धकेलिन सक्ने” चेतावनी दिए । तर आफूहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यवस्थित रूपमा बहस–छलफलमा सहभागी हुने उनको भनाइ छ।








