भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारी- मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासनयुक्त र पारदर्शी समाज निर्माणका लागि सबै नागरिक, निकाय र नेतृत्व तहको साझा प्रयास अपरिहार्य रहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार जारी शुभकामना सन्देशमार्फत् उनले भ्रष्टाचार नियन्त्रणलाई राज्य निर्माणको आधारभूत आवश्यकता भन्दै प्रदेश सरकार पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारे ।
शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले “भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन, यसले सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गतिसमेत कमजोर बनाउँछ” भन्दै भ्रष्टाचारमुक्त समाज निर्माणका लागि प्रभावकारी नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार नेपाल सन् २०११ देखि संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धिको पक्ष राष्ट्र बनेको र त्यसयता राष्ट्रले अन्तर्राष्ट्रिय मापदण्डअनुसार राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार पनि कानूनी, नीतिगत तथा संस्थागत संरचना सुदृढीकरणका विभिन्न पहललाई सक्रिय रूपमा अघि बढाइरहेको जानकारी दिए । खासगरी पाँच वर्षे सुशासन तथा भ्रष्टाचार न्यूनिकरण रणनीतिक योजना कार्यान्वयनमा रहेको उनले बताए ।
प्रदेश सरकारले पारदर्शिता र जवाफदेहिता अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यले पूर्व विशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौती, मुख्यमन्त्री तथा मन्त्रीहरूको आचारसंहिता कार्यान्वयन, चालू खर्च घटाउने पहल तथा विकास योजनालाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट अघि बढाउने व्यवस्था प्रभावकारी भएको पनि उनले उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले भ्रष्टाचारविरुद्धको लडाइँ सरकार मात्र होइन, समाजका सबै निकाय र नागरिकको साझा जिम्मेवारी भएको पुनः स्मरण गराउँदै सुशासनमूलक राज्य निर्माणमा सहकार्यको अपेक्षा व्यक्त गरे ।








