एमालेको ११ औं महाधिवेशनको तयारी अन्तिम चरणमा : मंसिर २५ भित्र सबै प्रतिनिधि–कार्ड छपाइ सकिने
काठमाडौँ । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक तथा कार्ड छपाइको काम तीव्र गतिमा अघि बढिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार संगठन विभाग प्रतिनिधिहरुको विवरण सच्याउने र भेरिफिकेसन गर्ने अन्तिम चरणमा पुगेको छ।
संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा २ हजार १ सय ५४ जना निर्वाचित प्रतिनिधि सहभागी हुनेछन् । साथै १ सय ८ जना केन्द्रबाट मनोनित हुने गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि हुने जानकारी उनले दिए।
तात्कालीन नेकपा (एस)को ‘घरफिर्ती अभियान’बाट आएका व्यक्तिमध्ये तीनजनाले प्रतिनिधि हुन पाउने आशयका साथ निवेदन दिएको र त्यसबारे निर्णय पार्टी सचिवालयले गर्ने अधिकारीले बताए।
उजुरी परेका जिल्लामा समस्या समाधान
अधिकारीका अनुसार धनकुटा र ओखलढुंगामा प्रतिनिधि छनौट प्रक्रिया पार्टीको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले पुनः छनौट गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार दुवै जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । यसैगरी अन्य तीन जिल्लामा परेका उजुरीको समाधान प्रक्रिया जारी रहेको छ ।
कसैकसै निर्वाचित प्रतिनिधिमा पनि मापदण्ड नपुगेको उजुरी आएपछि संगठन विभाग छानबिन गरिरहेको छ। अधिकारीका अनुसार “मापदण्ड नपुग्ने कुनै पनि प्रतिनिधिको कार्ड नबनाइने” तयारी रहेको छ । हालसम्म ७० प्रतिशतभन्दा बढी प्रतिनिधिको भेरिफिकेसन सकिएको जनाइएको छ।
महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी
महाधिवेशनको बन्द सत्र हलमा प्रतिनिधि बाहेक ३ सय ५१ जना सल्लाहकार परिषद्को सदस्य सहभागी हुनेछन्। परिषद्को कुल ३ सय ७६ सदस्यमध्ये २५ जना प्रतिनिधि निर्वाचित भएकाले बाँकी सदस्यलाई सहभागीको रूपमा प्रवेश दिने व्यवस्था मिलाइएको हो । यसरी प्रतिनिधि र सहभागी गरी कुल २ हजार ६ सय १३ जना महाधिवेशनमा सहभागी हुनेछन्।
कार्ड छपाइ धमाधम जारी
केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधिहरुको परिचयपत्र छपाइ तीव्र गतिमा भइरहेको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाइ सकिएको र बाँकी सबै कार्ड मंसिर २५ गतेभित्र छपाइ पूरा हुने अपेक्षा गरिएको छ । एमालेको ११ औं महाधिवेशनका तयारीहरू समयसीमा अनुसार अघि बढिरहेको संगठन विभागले जनाएको छ।








