२३ मंसिर २०८२, मंगलबार

अन्तरिम सरकार चुनावी मात्र होइन, सुशासनको सरकार हो-प्रधानमन्त्री सुशीला कार्की

प्रकाशित मिति :  9 December, 2025 2:06 pm


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अन्तरिम सरकार चुनावी सरकार मात्र नभई सुशासनको आधारमा निर्मित सरकार भएको बताएकी छिन् ।

भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनले उठाएका माग र जनअपेक्षाको जगमा वर्तमान सरकार बनेको स्पष्ट गरिन् ।

प्रधानमन्त्री कार्कीका अनुसार सरकारले नियमित कामसँगै सुशासन र पारदर्शिताका लागि तिव्र गतिमा कदम चालिरहेको छ। जेन–जी आन्दोलनका मागअनुसार आशातीत उपलब्धि हासिल हुन केही समय लाग्न सक्ने भए पनि भ्रष्टाचारविरुद्ध आवश्यक परे जुनसुकै कठोर कदम चाल्न सरकार तयार रहेको उनले बताएन् । “राज्यका स्थापित संयन्त्रहरू भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय भइसकेका छन्,” उनको भनाइ थियो ।

उनले भ्रष्टाचारविरुद्ध चलाइएका कदमहरुले आत्तिएका केही तत्वहरूले प्रत्यक्ष वा परोक्षरूपमा धम्की दिएको उल्लेख गर्दै सरकार त्यसबाट नडराउने स्पष्ट सन्देश दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “यो सरकार चुनावी सरकार मात्र होइन। सुशासनको माग राखी भएको जेन–जी आन्दोलनको जगमा बनेको सरकार हो । भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । धम्की आए पनि हामी डराउँदैनौँ ।”

उनले सम्बन्धित निकायका पदाधिकारी, राष्ट्रसेवक र अनुसन्धानकर्तालाई कत्तिपनि विचलित नहुन आग्रह गर्दै व्यावसायिक स्वतन्त्रता प्रयोग गर्दै अघि बढ्न निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार सुशासन स्थापनाका लागि सरकारले आरम्भ गरेका कदमहरू अब निर्णायक चरणतर्फ अघि बढिरहेका छन् र त्यसमा कुनै प्रकारको राजनीतिक वा व्यक्तिगत दबाबले अवरोध खडा गर्न नदिने सरकारको दृढता छ।



प्रतिक्रिया दिनुहोस !