२४ मंसिर २०८२, बुधबार

ईश्वर पोखरेलको प्रतिबद्धता : पराजय भए पनि एमालेमै रहन्छौं

प्रकाशित मिति :  10 December, 2025 4:27 pm


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित हुनुपरे पनि आफूहरू सधैं एमालेमै रहने स्पष्ट अडान व्यक्त गरेका छन् ।

आसन्न ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेलले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकृत गर्न सक्ने राजनीतिक संस्कार विकास गर्न आवश्यक रहेको बताएका छन् ।

बुधवार आफ्नो समूहले काठमाडौँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिस्पर्धीहरू पराजय बोक्न नसक्ने प्रवृत्ति राजनीतिक संस्कारकै कमजोरी भएको उल्लेख गरे ।

उनले भने, “हामी प्रतिस्पर्धामा जान तयार छौँ, तर जित्दा मात्र होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार्नुपर्छ। प्रतिस्पर्धा गर्नेहरूले यस्तो मानसिकता बनाउनुपर्छ भन्ने कुरामा हामी सचेत छौँ ।”

पोखरेलले माधव कुमार नेपाल र भीम रावलले हारपछि अलग्गै पार्टी खोलेको दृष्टान्त आफूहरूसँग नजोड्न आग्रह गर्दै आफूहरू परिणाम जे भए पनि एमालेमै रहने प्रतिबद्धता दोहोर्याए ।

उनका शब्दमा, “हामी जित्ने विश्वास राख्छौँ। तर यदि परिणाम विपरीत आयो भने पनि हामी नेकपा एमालेकै पक्षमा अडिन्छौँ। यसमा किञ्चित पनि तलमाथि हुँदैन ।”

यसै क्रममा उनले अध्यक्ष केपी शर्मा ओलीप्रति असहमति नेतृत्व व्यक्तित्वमा नभई कार्यशैलीमा केन्द्रित रहेको स्पष्ट पारे । आगामी महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता पोखरेलको अभिव्यक्तिलाई पार्टीभित्रको प्रतिस्पर्धा, आन्तरिक अनुशासन र भावी राजनीतिक दिशासँग गहिरो रूपमा जोडेर हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !