एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ बजेदेखि बस्दैछ ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुई दिन बाँकी रहँदा समितिले हालसम्म भएका तयारी तथा अब गर्नुपर्ने कामबारे विस्तृत समीक्षा गर्नेछ ।
गौतमका अनुसार आजको बैठकमा विशेषगरी जनपरिचालन तयारी सम्बन्धी प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गर्नेछन्। उनले कार्यकर्ता परिचालनलाई अझ व्यापक र प्रभावकारी बनाउन गर्नुपर्ने रणनीति बैठकमा राख्नेछन् ।
‘‘बढीभन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा सफल बनाउन विभिन्न समितिहरूबाट सुझाव प्रस्तुत हुनेछन्,’’ गौतमले बताए ।
मूल समितीको संयोजक महासचिव शंकर पोखरेल रहनुभएको छ भने सचिवको जिम्मेवारी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले संभालिरहनुभएको छ। आजको बैठकमा १४ वटै उपसमितिका संयोजकहरूले आफ्नो समितिको तयारीबारे प्रतिवेदन पेस गर्नेछन्।
महासचिव पोखरेलले सबै समितिहरूलाई आफ्नो भूमिका अझ प्रभावकारी बनाउने निर्देशन दिने अपेक्षा गरिएको छ। साथै बैठकमा महाधिवेशन उद्घाटन समारोहको प्रारूपसम्बन्धी जानकारी पनि प्रस्तुत गरिने बताइएको छ ।








