२५ मंसिर २०८२, बिहिबार

ओलीको कडा चेतावनी-होस राखेर चल्नुस्, समय फागुन २१ मा मात्रै रोकिँदैन

प्रकाशित मिति :  11 December, 2025 4:05 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूविरुद्ध संगठित रूपमा वैरभावपूर्ण गतिविधि भइरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले विशेषतः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित केही नेताहरू सुशीला कार्कीको सहकार्यमा आफूविरुद्ध उभिएको दाबी गरे ।

ओलीले पोखरेललाई नामै लिएर आलोचना गर्दै भने, “उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो।” पार्टीभित्र देखिएको यस्तो व्यवहारले अनावश्यक विवाद निम्त्याएको उनको भनाइ थियो ।

सरकार गठन प्रक्रियालाई असंवैधानिक भन्दै ओलीले वर्तमान सरकारका कुनै पनि गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पारे । सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष बयान दिन जाने–नजाने विषय आफूले निर्णय गर्ने बताउँदै, यसमा अरूले अर्ति नदिन वरिष्ठ उपाध्यक्ष पोखरेललगायतलाई चेतावनी दिए ।

सुशीला कार्कीलाई लक्षित गर्दै ओलीले समय “सुशीला कार्की र फागुन २१” मा पुगेर मात्र नरोकिने टिप्पणी गर्दै सचेत भएर अघि बढ्न आग्रह गरे । उनको भनाइमा, “ध्यान राखेर, होस् सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु ।”

भदौ २४ गते बालुवाटार छाडेको प्रसङ्ग उजागर गर्दै ओलीले आफू भागेको नभई थप क्याजल्टी हुन नदिन निवास परिवर्तन गरेको स्पष्टीकरण दिए । देश छाडेर कतै नगएको र नजाने पुनः दोहोर्‍याउँदै उनले भने, “उनीहरूको ज्यान बचाउनका लागि मैले मुकाम परिवर्तन गरेँ ।”

अध्यक्ष ओलीका यी अभिव्यक्तिले एमालेभित्र चलिरहेको अन्तरद्वन्द्व र पार्टी नेताबीचको खटपट फेरि सतहमा आएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !