एमाले ११औँ महाधिवेशन : सल्लाघारीमा तयारी अन्तिम चरणमा, तीन लाख दर्शक अट्ने भव्य मञ्च
काठमाडाैँ । नेकपा (एमाले) को ११औँ महाधिवेशन यही शनिबारदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा तयार भइरहेको उद्घाटनस्थल अन्तिम चरणमा पुगेको एमाले प्रचार विभागले जनाएको छ ।
मङ्सिर २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र यही स्थलमा आयोजना हुने छ । देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू ओझेल आउने क्रम तीव्र बनेको छ ।
उनीहरू उद्घाटनस्थल अवलोकन, भेटघाट, भिडियो तथा सामाजिक सञ्जालका सामग्री निर्माणमा सक्रिय देखिएका छन्। “लगभग सबै प्रतिनिधि आजसम्म आइपुग्नेछन्,” प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
चाँगुनारायण मन्दिरको झल्को दिने भव्य मञ्च
उद्घाटनस्थलको मुख्य मञ्च ऐतिहासिक–सांस्कृतिक शैलीमा निर्माण भइरहेको छ। चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी तयार भइरहेको मञ्च मल्लकालीन शैलीले सजिएको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता तथा स्थानीयको ठूलो भिड लाग्ने गरेको छ ।
मञ्च निर्माणमा खटिएकी एमाले भक्तपुर उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाका अनुसार मञ्चको मुख्य संरचना तयार भइसकेको छ । करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा अन्य संरचनाहरू पनि अन्तिम चरणमा पुगेका छन् ।
“मञ्च बाहिरबाट हेर्दा नै आकर्षक हुनेछ। मन्तव्य व्यक्त गर्दा मन्दिरको सिँढीमै उभिएको अनुभूति होस् भन्ने उद्देश्यले डिजाइन गरिएको हो,” थापाले बताइन् । नेवारी कला–संस्कृतिसहित झाँकी र प्रतीकहरू मञ्चमा राखिनेछन् ।
ठूलो भीड व्यवस्थापन : तीन लाखसम्म अट्ने क्षमता
सभास्थलमा करिब तीन लाख जनासम्म अट्ने व्यवस्था मिलाइएको छ । प्रमुख दर्शकस्थलतर्फ २५ हजार कुर्सी राखिँदै छ। कार्यक्रममा विभिन्न दलका शीर्ष नेता तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति सुनिश्चित गरिनेछ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार कार्यक्रमलाई भव्य र अनुशासित बनाउन १० हजार नेशनल भोलान्टियर्स र अन्य जनसंगठनका स्वयंसेवक परिचालन गरिनेछ। तीमध्ये ५५० स्वयंसेवक विशेष पोसाकसहित व्यवस्थापनमा रहनेछन्।
र्याली, निमन्त्रणा वितरण र प्रचार–प्रसार
मङ्सिर २७ गते अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम छ। सहभागीहरू पूर्वतर्फबाट जगाती र पश्चिमतर्फ गठ्ठाघर हुँदै विशाल र्यालीका साथ सभास्थल प्रवेश गर्नेछन्।
यसअघि अध्यक्ष ओलीको हस्ताक्षरसहितको निमन्त्रणापत्र लिएर भक्तपुरका चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।
उनका अनुसार करिब २२ हजार निमन्त्रणापत्र वितरण गरिसकिएको छ। ब्यानर, पार्टी झण्डा राख्ने तथा भोलिदेखि माइकिङ सुरु गर्ने तयारी जारी छ ।
देउजाका अनुसार उद्घाटनका दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहितको र्याली प्रदर्शन हुनेछ। भक्तपुरबाट मात्र करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको छ ।








