साहित्य समाजको पथप्रदर्शक हुनुपर्छ-अध्यक्ष ओली
दाङ । नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्य समाज परिवर्तनको महत्वपूर्ण पथप्रर्दशक हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा ‘युगदूत’ नामक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्य केवल आत्मसन्तुष्टिका लागि सीमित हुनु नहुने स्पष्ट पारे ।
अध्यक्ष ओलीका अनुसार साहित्य समाज र मानव जीवनका अनुभूति, अनुभव, भावना र गहिरो चिन्तनको समुच्चय हो, जसले समाजलाई सही दिशातर्फ अग्रसर गराउने शक्ति राख्छ ।
उनले साहित्यले केवल समाजको ‘ऐना’ मात्र होइन, समाजलाई अगाडि बढाउने ‘मार्गदर्शक’ को भूमिकासमेत निर्वाह गर्नुपर्ने बताए ।
उनका शब्दमा, “साहित्यलाई गन्तव्यहीन बनाउन हुँदैन। आत्मसन्तुष्टिका लागि मात्र साहित्य होइन, समाज र मानव जीवनका अनुभूतिहरूको उद्देश्यपूर्ण अभिव्यक्ति हुनुपर्छ।
चिन्तनले र विचारले समाजलाई बाटो देखाउने हो।” उनले विश्वका विभिन्न क्रान्तिहरूको प्रेरणाको मूल स्रोत पनि साहित्य नै रहेकाले साहित्यकार, रचनाकार, गीतकार तथा गजलकारहरूको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गरे ।
अध्यक्ष ओलीले नेपाललाई पनि साहित्यको उर्वर भूमि रहेको बताउँदै नेपाली साहित्यले समाजचेतना र परिवर्तनमा ठूलो योगदान दिँदै आएको टिप्पणी गरे ।








