२७ मंसिर २०८२, शनिबार

नेतृत्व परीक्षणको मोडमा एमाले : ११औँ महाधिवेशनबाट भावी राजनीतिक दिशा तय हुने

प्रकाशित मिति :  13 December, 2025 7:34 am


काठमाडौँ । नेकपा (एमाले) आजदेखि ११औँ राष्ट्रिय महाधिवेशनमा प्रवेश गर्दैछ । संगठन पुनर्संरचना र भावी नेतृत्वको खाका कोर्ने यो महाधिवेशनलाई पार्टीभित्रको नेतृत्व परीक्षण र शक्ति सन्तुलनको निर्णायक मोडका रूपमा हेरिएको छ ।

भक्तपुरको सल्लाघारीस्थित मैदानमा दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । मंसिर १९ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट २ हजार २६२ प्रतिनिधि सहभागी हुँदै छन् ।

महाधिवेशनको औपचारिक कार्यक्रमपछि नेतृत्व चयन प्रक्रिया आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रमार्फत अघि बढ्नेछ । यही बन्दसत्रले पार्टीको आगामी कार्यदिशा मात्र होइन, नेतृत्व संरचनाको स्वरूप र शक्ति सन्तुलन पनि तय गर्नेछ ।

११औँ महाधिवेशनलाई प्रतीकात्मक बनाउन पार्टीले ११ वटा झण्डा प्रयोग गर्ने तयारी गरेको छ । तीमध्ये १० वटा झण्डा एकसाथ फहराइने र एउटा झण्डा प्रविधिको प्रयोग गर्दै रिमोटमार्फत फहराइने तयारी गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

नेतृत्व प्रतिस्पर्धाको केन्द्रमा अध्यक्ष पद छ । भदौ २०–२२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधान र नीति यथावत् राखेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिएको छ । दुवै पक्षले १५ सदस्यीय पदाधिकारीका लागि प्यानलसहित मैदानमा उत्रिने सम्भावनाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा थप चर्किने संकेत गरेको छ ।

यसअघि शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र नेतृत्व निर्माणका आधार तय गरिसकेको छ । विधानअनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गरिने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेका लागि यो महाधिवेशन केवल नियमित प्रक्रिया मात्र नभई आन्तरिक एकता, नेतृत्वको वैधता र आगामी राजनीतिक रणनीतिको निर्णायक घडीका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !