२७ मंसिर २०८२, शनिबार

राजनीतिक सङ्कटको बीच एमाले महाधिवेशन : नेतृत्व, दिशा र सन्देशको परीक्षा

प्रकाशित मिति :  13 December, 2025 1:48 pm


काठमाडौँ । देश राजनीतिक अस्थिरता र सरकार परिवर्तनको बहसले तरंगित भइरहेका बेला नेकपा (एमाले) ले आफ्नो ११ औँ राष्ट्रिय महाधिवेशन सुरु गरेको छ ।

भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा आयोजित महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आगमनसँगै कार्यक्रम औपचारिक उद्घाटनतर्फ उन्मुख भएको हो ।

राजनीतिक रूपमा संवेदनशील समयमा सुरु भएको यस महाधिवेशनलाई एमालेले केवल संगठनात्मक प्रक्रिया मात्र नभई वर्तमान सत्ता समीकरणप्रति स्पष्ट राजनीतिक सन्देश दिने मञ्चका रूपमा लिएको देखिन्छ ।

अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गर्नेबित्तिकै उपस्थित नेता–कार्यकर्ताले नाराबाजी र तालीमार्फत स्वागत गरेका थिए, जसले महाधिवेशनको उत्साह मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन र मनोबलसमेत झल्काएको छ ।

महाधिवेशनस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव, उपमहासचिव तथा अन्य शीर्ष नेताहरू यसअघि नै उपस्थित भइसकेका थिए ।

देशका विभिन्न भूगोलबाट झण्डा र ब्यानरसहित र्‍यालीका रूपमा आएका प्रतिनिधि र कार्यकर्ताले तीनकुनेको मैदान भरिँदा एमालेको सांगठनिक शक्ति प्रदर्शन भएको छ ।

उद्घाटन समारोहको सञ्चालन उपमहासचिव प्रदीप ज्ञवालीले गर्दै छन् । उनले देशमा जननिर्वाचित सरकार ढालेर अराजक प्रवृत्तिको सरकार चलिरहेको अवस्थामा एमालेको महाधिवेशन सुरु हुनु आफैंमा राजनीतिक अर्थ बोकेको उल्लेख गरे । यस्तो परिस्थितिमा पनि देशभरबाट देखिएको उल्लेख्य उपस्थितिलाई उनले पार्टीप्रतिको विश्वास र प्रतिबद्धताको प्रमाणका रूपमा व्याख्या गरे ।

एमालेले यस महाधिवेशनलाई भावी नेतृत्व चयन, नीति–कार्यक्रमको पुनःपरिभाषा र संगठन सुदृढीकरणका लागि निर्णायक अवसरका रूपमा हेरेको छ ।

त्यसैले तीन दिनसम्म चल्ने महाधिवेशन केवल आन्तरिक चुनावको प्रक्रिया मात्र नभई, समग्र नेपाली राजनीतिमा एमालेले खेल्न चाहेको भूमिकाको स्पष्ट खाका सार्वजनिक हुने मञ्चका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !