२७ मंसिर २०८२, शनिबार

महासचिव शङ्कर पाेखरेकाे आत्मविश्वास पूर्ण सन्देश : एमाले कमजोर होइन, पुनरुत्थानको चरणमा

प्रकाशित मिति :  13 December, 2025 1:59 pm


काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई पार्टीको पुनःउत्थान घोषणा गर्ने मञ्च का रूपमा प्रयोग गर्दै, वर्तमान राजनीतिक अवस्थालाई अस्थायी धक्का मात्र भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार योजनाबद्ध रूपमा ढालिएको दाबी गर्दै पोखरेलले एमालेलाई कमजोर देखाउने प्रयास असफल भइसकेको सन्देश दिए । उनका अनुसार, सरकारबाट बाहिरिनु पार्टीको समाप्ति होइन, बरु पुनः संगठित भएर अझ बलियो रूपमा फर्किने प्रक्रियाको सुरुआत हो ।

महाधिवेशन उद्घाटन समारोहमा उपस्थित विशाल जनसमुदायलाई संकेत गर्दै महासचिव पोखरेलले एमालेको शक्ति सत्ता होइन, जनताको भरोसा भएको उल्लेख गरे ।

‘‘हामी जनताको हृदयमा गहिरोसँग बसेका छौँ,’‘ भन्दै उहाँले महाधिवेशनको उपस्थितिले पार्टीप्रतिको जनसमर्थन अझै सुदृढ रहेको पुष्टि गरेको दाबी गरे ।

पोखरेलले पछिल्लो समय भदौ २३ र २४ गतेका घटनालाई लिएर पार्टी अध्यक्ष ओलीलाई दोषी देखाउने प्रयासप्रति पनि आपत्ति जनाए । ती घटनाको सम्पूर्ण जिम्मेवारी ओलीमाथि थोपर्ने दुष्प्रयत्नलाई उहाँले राजनीतिक रूपमा योजनाबद्ध प्रचारको रूपमा व्याख्या गरे ।

एमाले कमजोर हुँदै गएको भन्ने भाष्यलाई खारेज गर्दै पोखरेलले महाधिवेशनले ठीक उल्टो सन्देश दिएको बताए—पार्टी अझ संगठित, अनुशासित र आत्मविश्वासी बनेर अगाडि बढिरहेको छ ।

महाधिवेशनको यो सन्देशलाई एमालेले केवल आन्तरिक उत्साहका रूपमा होइन, समग्र नेपाली राजनीतिमा आफू अझै निर्णायक शक्ति भएको दाबीका रूपमा प्रस्तुत गरेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !