२७ मंसिर २०८२, शनिबार

महाधिवेशन मञ्चबाट ओलीको सन्देश : ‘एमालेको समय सकिएको होइन, एमाले अजम्बरी छ’

प्रकाशित मिति :  13 December, 2025 2:39 pm


भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि उठाइँदै आएको अवसानको भाष्यलाई ११ औँ राष्ट्रिय महाधिवेशनको मञ्चबाट कडा रूपमा खारेज गरेका छन् ।

हजारौँ नेता–कार्यकर्ताको उपस्थितिबीच ओलीले एमाले कुनै कालखण्डमा सीमित पार्टी नभई, निरन्तर रूपान्तरण हुँदै आएको राजनीतिक शक्ति भएको दाबी गरे ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पछिल्लो समय पुराना पार्टी र नेताहरूको भूमिका सकिएको भन्दै एमालेको सान्दर्भिकता समाप्त भएको चित्रण गर्न खोजिएको उल्लेख गरे । तर, त्यस्ता प्रहारहरूका बाबजुद देखिएको जनउपस्थितिलाई उनले पार्टीको जीवित शक्ति र जनआधारको प्रमाणका रूपमा प्रस्तुत गरे ।

ओलीका अनुसार, यो महाधिवेशन केवल आन्तरिक कार्यक्रम होइन, लोकतान्त्रिक अभ्यासको निरन्तरता र राजनीतिक स्थायित्वप्रतिको जनअपेक्षाको अभिव्यक्ति हो ।

‘लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ’ भन्ने अभिव्यक्तिमार्फत उनले पार्टीको भविष्यप्रति आत्मविश्वास मात्र होइन, आलोचकहरूलाई राजनीतिक सन्देशसमेत दिन खोज्नुभएको देखिन्छ ।

अध्यक्ष ओलीले एमाले देशको निर्णायक शक्ति बन्ने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गर्दै, नेतृत्व र संगठन दुवैलाई समयअनुसार सुदृढ बनाइने संकेत दिए ।

महाधिवेशनको मञ्चबाट आएको यो अभिव्यक्तिलाई एमालेले आफ्ना समर्थकलाई उत्साहित गर्ने र बाहिर फैलिएको नकारात्मक भाष्यलाई चुनौती दिने रणनीतिक सन्देशका रूपमा लिएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !