२८ मंसिर २०८२, आइतबार

एमालेको ११औँ महाधिवेशन : सवा १२ देखि बन्दसत्र सुरु हुने

प्रकाशित मिति :  14 December, 2025 10:19 am


काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र दिउँशाे १२:१५ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा प्रारम्भ हुने एमालेले जनाएको छ।

यसपूर्व बिहान केन्द्रीय कमिटीकाे बैठक तय भएकाे छ । बन्दसत्रमा देशभरबाट आएका २ हजार २६२ जना प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

बन्दसत्रमार्फत् पार्टीले अध्यक्ष एक जना, महासचिव एक जना, उपाध्यक्ष तीन जना, उपमहासचिव तीन जना र सचिव सात जनासहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने कार्यसूची तय गरेको छ।

यसअघि हिजो भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको मैदानमा महाधिवेशनको औपचारिक उद्घाटन सम्पन्न भएको थियो । विधान महाधिवेशन भने गत भदौमै सम्पन्न भइसकेकाले एमाले आजदेखि सिधै नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो ।

नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दाबेदार रहेका छन् । पार्टीले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ ।

मतदान आवश्यक परे विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने एमालेले जानकारी दिएको छ। नेतृत्व चयनसँगै नयाँ केन्द्रीय समितिले आगामी राजनीतिक दिशा, संगठन विस्तार र पार्टी एकताको सन्देश दिने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !