२८ मंसिर २०८२, आइतबार

संसदीय सेवामा गुणस्तर र निष्पक्षता अपरिहार्य-सभामुख घिमिरे

प्रकाशित मिति :  14 December, 2025 10:31 am


काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई जीवन्त, सक्षम र विश्वसनीय बनाउन संसदीय सेवामा कार्यरत कर्मचारीहरूको भूमिका निर्णायक हुने बताएका छन् ।

संसद् सेवा दिवस–२०८२ का अवसरमा सन्देश जारी गर्दै उनले कार्यक्षमता, व्यावसायिक निष्ठा र राजनीतिक निष्पक्षतालाई संसदीय अभ्यासको मूल आधारका रूपमा औँल्याए ।

संसदीय अभ्यासलाई प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले १९ वर्षअघि छुट्टै ऐनमार्फत संसद् सेवाको स्थापना गरिएको स्मरण गर्दै सभामुख घिमिरेले संविधान कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा संसदीय सेवाले पुर्‍याउँदै आएको प्रशासनिक तथा प्राविधिक सहयोगलाई अत्यन्त महत्त्वपूर्ण बताए ।

उनका अनुसार संसद् केवल राजनीतिक बहसको थलो मात्र नभई लोकतन्त्रको ‘मन्दिर’ भएकाले त्यसलाई सुचारु राख्ने कर्मचारी संयन्त्र पनि त्यत्तिकै पवित्र, पारदर्शी र दक्ष हुनुपर्छ।

“राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसद्को आधार हो,” सभामुख घिमिरेको सन्देशमा उल्लेख छ ।

सभामुख घिमिरेले संसद्को स्वायत्तता सुदृढ गर्दै संसदीय सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउने दिशामा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

संसद् सेवा दिवसका अवसरमा उनले सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको सुख, शान्ति र प्रगतिको कामना पनि गरे ।



प्रतिक्रिया दिनुहोस !