एमाले केन्द्रीय कमिटी बैठक : १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी तथा केन्द्रीय संरचनासम्बन्धी निर्णय टुङ्गो लगाएको छ । बैठकले अध्यक्षदेखि केन्द्रीय कमिटीसम्मको संगठनात्मक ढाँचा स्पष्ट गर्दै संख्या निर्धारण गरेको हो ।
निर्णयअनुसार पार्टीमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहने व्यवस्था गरिएको छ । त्यसैगरी पार्टीका नीतिगत तथा रणनीतिक निर्णय गर्ने संरचनाअन्तर्गत ९९ सदस्यीय पोलिटब्युरो गठन गरिने भएको छ। पोलिटब्युरोको एक तिहाइ सदस्य सम्मिलित स्थायी कमिटी रहने व्यवस्था पनि बैठकले तय गरेको छ।
बैठकले पार्टीको मूल निर्णयकारी निकायका रूपमा रहने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी नेतृत्वका अनुसार यी निर्णयहरूले संगठनलाई थप व्यवस्थित, समावेशी र कार्यक्षम बनाउँदै आगामी राजनीतिक कार्यदिशालाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।







