२८ मंसिर २०८२, आइतबार

एमाले नेतृत्व चयनको घडी नजिकिँदै : आजैबाट निर्वाचन प्रक्रियाको औपचारिक सुरुआत

प्रकाशित मिति :  14 December, 2025 6:55 pm


काठमाडाैँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया आज साँझबाटै सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्म लागू हुने निर्वाचन तालिका सार्वजनिक गर्दै महाधिवेशनको सबैभन्दा निर्णायक चरणलाई अघि बढाएको हो ।

तालिकाअनुसार आज साँझ ७ बजे मतदाता नामावली प्रकाशन गरिँदैछ । यसपछि भोलि २९ गते बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध तथा सुधारका लागि समय छुट्याइएको छ ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र पारदर्शितालाई बलियो बनाउने उद्देश्यले नामावली सच्याउने प्रक्रियालाई समयमै समेटिएको देखिन्छ ।

त्यसै दिन बिहान साढे ९ बजे दाबी–विरोध तथा सुधारसम्बन्धी सूचनाको प्रकाशन हुने छ भने बिहान १० बजे ती दाबी–विरोधमाथि छानबिन र निर्णय गर्ने कार्यतालिका छ । आयोगले सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

नेतृत्व चयनलाई व्यवस्थित, अनुशासित र विवादरहित बनाउने लक्ष्यसहित तय गरिएको यो तालिकाले एमालेभित्रको प्रतिस्पर्धालाई औपचारिक रूप दिएको छ । अब ध्यान उम्मेदवारी दर्ता, प्रचार र मतदान प्रक्रियातर्फ केन्द्रित हुँदै जाने संकेत देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !