२९ मंसिर २०८२, सोमबार

एमाले ११औँ महाधिवेशन : आज उम्मेदवारी मनोनयन

प्रकाशित मिति :  15 December, 2025 7:44 am


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारी मनोनयन प्रक्रिया सञ्चालन हुँदैछ। पार्टीको निर्वाचन आयोगका अनुसार कार्यक्रम आज बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको हो ।

निर्वाचन आयोगले हिजो साँझ सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमाथि आज बिहान ९ बजेसम्म दाबी–विरोध गर्ने समय तोकिएको छ ।

आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार दाबी–विरोधमाथिको छानविन बिहान १० बजेसम्म सम्पन्न गरिनेछ भने १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

आयोगले आजै उम्मेदवारी प्रक्रिया टुंग्याएर भोलि मतदान गर्ने तयारी गरेको जनाएको छ। निर्वाचन कार्यक्रमअनुसार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म उम्मेदवारी फारम वितरण हुनेछ।

उम्मेदवारी दर्ता समय बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म तोकिएको छ। उम्मेदवारको प्रारम्भिक नामावली दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ। त्यसपछि २ः३० बजेदेखि आधा घण्टा उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ।

आयोगका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरीको छानविन १० मिनेटभित्रै सम्पन्न गरिनेछ भने उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिनेछ। हिजोदेखि सुरु भएको महाधिवेशनमा २,२६३ जना प्रतिनिधि सहभागी छन्।



प्रतिक्रिया दिनुहोस !