भोट खोज्ने होइन, भोटले खोज्ने पार्टी बन्नुपर्छ-महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावी रणनीतिलाई नारामुखीभन्दा कर्ममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार राजनीति भीड उचाल्ने प्रतिस्पर्धा होइन, नागरिकको विश्वास जित्ने निरन्तर अभ्यास हो ।
सोमबार ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले काँग्रेसलाई फेरि एकपटक इतिहासले गम्भीर जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै अहिलेको चुनौती चुनाव जित्नु मात्रै नभई देशलाई द्वन्द्व र असन्तुष्टिबाट सुरक्षित रूपमा अघि बढाउनु रहेको बताए ।
विगतमा हिंसा र सम्भावित जातीय द्वन्द्वबाट मुलुकलाई जोगाउने भूमिका खेलेझैँ आज पनि देश सम्हाल्ने दायित्व काँग्रेसकै काँधमा आएको उनको भनाइ थियो ।
थापाले आत्मालोचना र स्वीकारोक्तिलाई काँग्रेसको शक्ति ठान्दै कमजोरी ढाकछोप होइन, खुलेर स्वीकार गर्दै जनताबीच जानुपर्ने धारणा राखे ।
“हामी काँग्रेस हौँ भनेर गर्वका साथ भन्न सक्ने साहस आवश्यक छ,” उनले भने, “गल्ती भएका छन्, स्वीकार्छौँ र सुधार्छौँ भनेर नागरिकसँग सिधा संवाद गर्न सके चुनाव आफैँ आउँछ ।”
महामन्त्री थापाका अनुसार मतदातालाई पछ्याउने राजनीति कहिल्यै सफल हुँदैन । बरु, पार्टीको काम, आचरण र दृष्टिकोण यस्तो हुनुपर्छ कि मतदाता आफैँ काँग्रेसतर्फ आकर्षित होऊन् । “भोट माग्न जानु नपर्ने अवस्था बनाउनु नै सही राजनीति हो,” उनले जोड दिए ।
कार्यक्रममा थापाले नेकपा एमालेतर्फ लक्षित टिप्पणी गर्दै उत्तेजना र भीड उचाल्ने शैली नेपाली काँग्रेसको चरित्र नभएको स्पष्ट पारे ।
भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष अनुसन्धान र कारबाही हुने बताउँदै उनले नागरिकमा देखिएको आक्रोश र असन्तुष्टिलाई शान्त पार्नु काँग्रेसको दायित्व भएको उल्लेख गरे ।
समावेशीता, जिम्मेवारी र संयमताको राजनीति नै वर्तमान समयको आवश्यकता भएको भन्दै महामन्त्री थापाले सबैलाई समेट्दै अघि बढ्ने काँग्रेसको बाटो नै देशको स्थायित्वको आधार बन्ने विश्वास व्यक्त गरे ।








