१ पुस २०८२, मंगलबार

आज भृकुटीमण्डपमा एमाले नेतृत्व चयन, अध्यक्षमा ओली–पोखरेल आमने-सामने

प्रकाशित मिति :  16 December, 2025 7:51 am


काठमाडौँ । भृकुटीमण्डपमा जारी नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आज निर्णायक मोडमा पुगेको छ । नयाँ नेतृत्व चयनका लागि हुने मतदानलाई पार्टीको संगठनात्मक परिपक्वता, आन्तरिक लोकतन्त्र र भावी राजनीतिक दिशाको परीक्षणका रूपमा हेरिएको छ ।

तेस्रोपटक परिमार्जित निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते मंगलवार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने तय भएको छ । यसपटकको निर्वाचनलाई विशेष बनाउने पक्ष भनेको नेतृत्व तहमा देखिएको खुला प्रतिस्पर्धा र प्रविधिमैत्री मतदान प्रणाली हो ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने छन् । यो प्रतिस्पर्धालाई एमालेभित्र विचार, अनुभव र संगठन सञ्चालन शैलीबीचको छनोटका रूपमा विश्लेषण गरिएको छ ।

पदाधिकारी तहमा समेत व्यापक प्रतिस्पर्धा देखिएको छ । संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।

तीन उपमहासचिव र नौ सचिव पदमा समेत बहुसंख्यक उम्मेदवार मैदानमा रहेकाले नेतृत्व चयन प्रक्रियालाई थप रोचक बनाएको छ । केन्द्रीय सदस्य पदमा त विभिन्न भूगोल, पेशा र समूहबाट हजारभन्दा बढी आकांक्षी प्रतिस्पर्धामा उत्रिएका छन् ।

महाधिवेशनमा सहभागी दुई हजार २६३ प्रतिनिधिको मत सुरक्षित, छरितो र पारदर्शी ढङ्गले संकलन गर्न ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ ।

आयोगका अनुसार प्रतिव्यक्ति मतदान समय २५ देखि ३० मिनेट लाग्ने अनुमान गरिएको छ । यस व्यवस्थाले लामो मतपत्र, बहुपद निर्वाचन र समय व्यवस्थापनको चुनौतीलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

एमालेको यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीभित्रको शक्ति सन्तुलन, भावी रणनीति र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई पुनः परिभाषित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । मतदानपछि आउने परिणामले एमालेको आगामी यात्राको स्पष्ट संकेत गर्ने विश्लेषकहरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !