ओली नेतृत्वको प्यानललाई विजयी गराउन मैदानमा उत्रिए प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेको चर्चा चलिरहेकै बेला पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिएका छन् ।
महाधिवेशन मतदान स्थलमा पुगेका ज्ञवालीले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधिहरूसँग भेटघाट गर्दै केपी शर्मा ओली नेतृत्वको प्यानलका पक्षमा मत माग्न थालेका हुन् ।
उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा राख्दै प्रतिनिधिहरुलाई सिङ्गाे प्यानलमा मतदान गर्न आग्रह गरेका छन् ।
पार्टीभित्र देखिएका मतभेद र असहमतिको चर्चा बीच ज्ञवालीको सक्रियता संस्थापन पक्षका लागि राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
प्रतिनिधिहरूसँगको संवादमा ज्ञवालीले व्यक्तिगत असन्तुष्टि भन्दा पार्टी हित ठूलो हुने स्पष्ट सन्देश दिएका छन् । “मेरा केही असहमति थिए, तर मभन्दा माथि पार्टी हो,” ज्ञवालीले भनेका छन्, “पार्टीलाई बलियो बनाउन म केपी ओली र शंकर पोखरेलसँगै छु ।”
महाधिवेशनको निर्णायक घडीमा ज्ञवालीजस्ता प्रभावशाली नेताको सक्रिय समर्थनले ओली नेतृत्वको प्यानलको प्रचार अभियानलाई थप ऊर्जा दिएको र संस्थापन पक्षको एकताको सन्देश बलियो बनेको देखिएको छ ।








