एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान शुरू
काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ। प्रारम्भमा देखिएका प्राविधिक अवरोध पार गर्दै अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मतदान सफलतापूर्वक गरेपछि प्रतिनिधिहरूलाई मतदानस्थल प्रवेश गराइएको हो ।
मतदानस्थल भृकुटीमण्डपमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको आगमनसँगै मतदान प्रक्रिया अघि बढाइएको हो । अर्का अध्यक्ष उम्मेदवार ईश्वर पोखरेल भने बिहानैदेखि मतदानस्थलमा उपस्थित भई प्रतिनिधिहरूसँग भेटघाट र मत माग्दै सक्रिय देखिएका थिए ।
यसअघि हिजो बिहान १० बजे मतदान सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको भए पनि विभिन्न कारणले समय पटक–पटक सारिएको थियो ।
उम्मेदवारको संशोधित सूची समयमै विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न नसक्नु, नेपाली फन्टको प्राविधिक समर्थन नहुनुजस्ता कारणले अन्ततः मतदान आज बिहानका लागि सारिएको हो ।
३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि मतदानमा सहभागी हुँदैछन् । केही पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ। एक जना प्रतिनिधिले मतदान गर्न औसत ३५ देखि ४० मिनेट लाग्ने जनाइएको छ।
केन्द्रीय निर्वाचन आयोगले एक पटकमा ५० जनालाई मतदान गर्ने व्यवस्था मिलाएको छ । मतदानस्थलमा महिला र पुरुष प्रतिनिधिका लागि एउटै लाइनको व्यवस्था गरिएको छ, जसले व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगका अनुसार ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ भने ३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्।
मतदान प्रक्रियाको सफल सञ्चालनसँगै एमालेको आन्तरिक लोकतन्त्र, नेतृत्व चयन र आगामी राजनीतिक दिशाबारे देशको ध्यान भृकुटीमण्डपतर्फ केन्द्रित भएको छ ।








