एमाले नेतृत्व चयन गर्न यसरी भइरहेको छ मतदान
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन आज बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया केवल नेतृत्व चयनको औपचारिक अभ्यासमा सीमित देखिएन ।
मतदान लाइनमै देखिएको महिला–पुरुषको समान सहभागिताले पार्टीभित्रको लोकतान्त्रिक संस्कार र लैङ्गिक समानताको व्यवहारिक अभ्यासलाई पनि उजागर गर्यो ।
मतदानस्थलमा उम्मेदवार र प्रतिनिधि एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् । लाइनमा महिला र पुरुष प्रतिनिधि सँगसँगै बसेको दृश्यलाई लिएर जिज्ञासा राख्दा महिला प्रतिनिधिहरूले यसलाई स्वाभाविक र सकारात्मक अभ्यासको रूपमा व्याख्या गरे । उनीहरूको भनाइमा महिला र पुरुषलाई फरक–फरक दृष्टिले हेर्नुपर्ने कुनै आवश्यकता छैन।
‘हामी महिला–पुरुष एक रथका दुई पाङ्ग्रा हौँ,’ एक महिला प्रतिनिधिले भनिन्, ‘राजनीतिक अभ्यासमा पनि यही सोच व्यवहारमा उतारिनु आजको आवश्यकता हो।’ उनीहरूले पार्टीभित्र समान अवसर, समान जिम्मेवारी र समान सम्मानको अभ्यास देखिनु सकारात्मक सन्देश भएको प्रतिक्रिया दिए।
मतदानस्थलको वातावरण उत्साहपूर्ण देखिन्छ । उम्मेदवारहरू प्रतिनिधिसँग चिनजान गर्दै मत मागिरहेका छन् भने प्रतिनिधिहरू आपसमा संवाद र सहकार्यको भावनामा देखिन्छन् ।
विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ । प्राविधिक कारणले हिजोका लागि तय भएको मतदान आज सारिए पनि अहिले प्रक्रिया सहज र व्यवस्थित रूपमा अघि बढिरहेको जनाइएको छ।
मतदान प्रक्रियामा असहजता भए सहयोग गर्ने स्वयंसेवक र प्राविधिक टोली परिचालित छन् । भोट हाल्न नजान्ने प्रतिनिधिलाई सिकाउने व्यवस्था मिलाइएको बताइएको छ।
प्रतिनिधिहरूले नेतृत्व चयनको परिणामभन्दा लोकतान्त्रिक प्रक्रियाको महत्व ठूलो भएको धारणा राखेका छन् । ‘जो नेतृत्व आए पनि पार्टीको समग्र अभिभावक भएर आउँछ,’ एक प्रतिनिधिले भने, ‘व्यक्तिगत हार–जितभन्दा माथि उठेर निर्वाचित नेतृत्वलाई स्वीकार्नु र पार्टीलाई बलियो बनाउनु हाम्रो साझा दायित्व हो।’
महाधिवेशनको मतदान प्रक्रिया यसरी केवल सत्ता हस्तान्तरणको प्रक्रिया नभई समानता, सहभागिता र एकताको सन्देश प्रवाह गर्ने अभ्यासका रूपमा पनि प्रस्तुत भएको छ।








