एमाले महाधिवेशन अन्तिम चरणमा : ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गरिने
काठमाडाैँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले समयको सीमा नमान्दै निरन्तरता पाएको छ। बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया रातभर चल्दै विहीबार बिहानसम्म आइपुगेको छ।
लामो समयसम्म चलेको मतदान अब निर्णायक मोडमा पुगेको छ। निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार मतदान अन्तिम चरणमा पुगेको र एक घण्टाभन्दा कम समयमा सम्पूर्ण प्रक्रिया सम्पन्न हुने अनुमान गरिएको छ।
रातभर मतदान जारी रहनु महाधिवेशनप्रतिको प्रतिनिधिहरूको प्रतिबद्धता र उत्साहको प्रतीकका रूपमा हेरिएको छ। थकानका बाबजुद पनि प्रतिनिधिहरूले अनुशासन र धैर्यका साथ आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
एमालेको नेतृत्व चयन प्रक्रिया अब केही समयमै टुंगो लाग्ने अपेक्षा गरिएको छ। यससँगै महाधिवेशनको सबैभन्दा चासोको केन्द्र बनेको नयाँ नेतृत्वको तस्वीर पनि छिट्टै स्पष्ट हुने देखिन्छ।
महाधिवेशनस्थलमा उत्साहपूर्ण वातावरण छ। उम्मेदवारहरू प्रतिनिधिसँग संवाद गर्दै मत मागिरहेका छन् भने प्रतिनिधिहरूबीच आपसी चिनजान र विचार आदान–प्रदान पनि भइरहेको छ ।
कतिपय प्रतिनिधिहरूका अनुसार यस्तो खुला र समान वातावरणले पार्टीभित्रको एकता र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउने विश्वास गरिएको छ।एमालेको यो महाधिवेशनले नेतृत्व चयनसँगै व्यवहारमा समानता र समावेशिताको सन्देश दिन खोजेको देखिन्छ।
‘अब १०० मत खस्न बाँकी छ । ८० वटा मेसिनबाट मतदान भइरहेको छ,’ उनले भने । लामाका अनुसार अहिले ८० जनाले मत हालिरहेका छन् । २० जना जति होल्डिङ सेन्टरमा छन् ।
महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन ।
मतपरिणाम आजै सार्वजनिक हुनेछ । एमालेले ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।








