३ पुस २०८२, बिहिबार

एमाले निर्वाचनः मतगणना जारी : ओली र शंकर पोखरेल अग्रस्थानमा

प्रकाशित मिति :  18 December, 2025 11:28 am


काठमाडाैँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक नतिजामा शीर्ष पदका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली स्पष्ट अग्रता बनाउँदै अघि बढेका छन् ।

आयोगका अनुसार हालसम्म अध्यक्षका उम्मेदवार ओलीले ३३३ मत प्राप्त गर्नुभएको छ भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत पाएका छन् । यसैगरी महासचिव पदमा शंकर पोखरेल २४९ मतसहित अग्रस्थानमा रहँदा सुरेन्द्रप्रसाद पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदतर्फ पृथ्वीसुव्वा गुरुङ ३५६ मतसहित शीर्ष स्थानमा देखिएका छन् । उनीपछि विष्णुप्रसाद पौडेलले ३४९, रामबहादुर थापा ‘बादल’ले ३०९, छविलाल विश्वकर्माले ३११, पद्मा कुमारी अर्यालले ३०५ तथा शेरधन राईले ३०० मत प्राप्त गरेका छन् ।

गाेकर्णराज विष्ट (२५६), रघुजी पन्त (२५३) र गुरु प्रसाद बराल (२४२) पनि प्रतिस्पर्धामा बलियो देखिएका छन् ।

उपमहासचिव पदमा लेखराज भट्ट २९३ मतसहित अग्रस्थानमा रहँदा रघुवीर महासेठ (२६७), योगेश भट्टराई (२६४) र विष्णु प्रसाद रिमाल (२२०) पछ्याइरहनुभएको छ ।

सचिव पदतर्फ छविलाल विश्वकर्मा र महेश बस्नेतले समान ३११ मत प्राप्त गर्दै अग्रता लिएका छन् । पद्मा कुमारी अर्याल (३०५), शेरधन राई (३००), खगराज अधिकारी (२७९), हिक्मत कुमार कार्की (२७४) र यमलाल कडेल (२६९) पनि शीर्ष प्रतिस्पर्धामा देखिएका छन् ।

निर्वाचन आयोगका अनुसार मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ । प्रारम्भिक परिणामले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले अधिकांश पदमा अग्रता बनाएको संकेत गरेको छ । आयोगले मतगणना सम्पन्न भएपछि औपचारिक रूपमा अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !