मतदान सहज बनाउने तयारी तीव्र : समावेशी प्रणाली पनि परिमार्जन
दाङ (देउखुरी) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले देशभर कूल १० हजार ९६७ मतदानस्थल निर्धारण गरेको छ ।
यसअघि कायम रहेका मतदानस्थलको संरचनामा पुनरावलोकन गर्दै आयोगले १६८ वटा नयाँ मतदानस्थल थप गरेको हो ।साविकमा १० हजार ८९२ मतदानस्थल रहेकामा प्रयोगमा नरहेका, अपायक परेका वा मतदाताका लागि असहज देखिएका ९३ वटा मतदानस्थल खारेज गरिएको आयोगले जनाएको छ ।
मतदातालाई सहज, सुरक्षित र नजिकै पुगेर मतदान गर्न सकिने उद्देश्यले मतदानस्थलको पुनर्संरचना गरिएको आयोगको दाबी छ ।
नाम, ठेगाना सच्याइँदै, मतदाता स्थानान्तरण
पुनरावलोकनका क्रममा मतदानस्थलको नाम र ठेगानामा देखिएका त्रुटि सच्याइने, आवश्यक परे आंशिक वा सबै मतदातालाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिने आयोगले स्पष्ट पारेको छ ।
एउटै वडाभित्र रहेका मतदानस्थलबीच मतदाताको नाम सार्नसमेत निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसका लागि आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत दाबी–विरोध गर्न आग्रह गरिसकेको थियो ।
समानुपातिक प्रणालीमा नयाँ सहजता
यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण प्रक्रिया पनि सहज बनेको छ ।
रामचन्द्र पौडेल ्ले नेपालको संविधानको धारा ११४(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका छन् । नेपाल सरकारले २०७८ को राष्ट्रिय जनगणनाअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गर्न सिफारिस गरेको थियो । यसअघि ऐनमा राष्ट्रिय जनगणना २०६८ का तथ्याङ्क प्रयोग हुँदै आएका थिए ।
बन्दसूची पेस गर्ने समयसीमा तोकियो
अब समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले २०७८ को जनगणनाका आधारमा समावेशी प्रतिशत मिलाएर उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस प्रणालीका लागि आवेदन दिएका दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्दसूची बुझाउनुपर्ने समयसीमा तोकिएको छ ।
मतदानस्थलको पुनर्संरचना र समावेशी प्रणालीको परिमार्जनले आसन्न निर्वाचनलाई थप व्यवस्थित, पहुँचयोग्य र समावेशी बनाउने अपेक्षा गरिएको छ ।








