स्वच्छता र पारदर्शितामा जोड दिँदै नेकपामा उम्मेदवार छनोटका नयाँ मापदण्ड लागू
दाङ (देउखुरी) । नेपाली कम्युनिष्ट पार्टी (नेपाली कम्युनिष्ट पार्टी (नेकपा)) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा कडा तथा स्पष्ट मापदण्ड लागू गरेको छ ।
पार्टीले जारी गरेको आन्तरिक परिपत्रमा उम्मेदवारहरू कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने व्यवस्था गरिएको छ।
परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ। साथै मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान तथा कानुनले अयोग्य ठहर नगरेको हुनुपर्ने स्पष्ट उल्लेख छ। बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै वञ्चित गरिएको छ।
पार्टीले आर्थिक पारदर्शितालाई विशेष प्राथमिकता दिएको छ। भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न नपाउनेछन्।
कर–राजश्व पूर्ण रूपमा अद्यावधिक भएको, कालो सूचीमा नाम नभएको तथा सम्पत्ति र आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ। पार्टीको आर्थिक अनुशासन उल्लङ्घन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिने व्यवस्था गरिएको छ।
सामाजिक आचरणमा शून्य सहनशीलता नीति अवलम्बन गर्दै जातीय तथा लैङ्गिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई उम्मेदवार नबनाइने स्पष्ट गरिएको छ ।
राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रमप्रति पूर्ण प्रतिबद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनताबीच लोकप्रियता उम्मेदवारका अनिवार्य मापदण्ड तोकिएका छन्। साथै विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि सिफारिसको आधार बनाइनेछ।
प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जना सिफारिस गर्नुपर्ने व्यवस्था छ। जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
समानुपातिकतर्फ महिला, दलित, जनजाति, मधेसीलगायत क्लस्टरलाई अनिवार्य समेट्दै शहीद–बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिनुपर्नेछ ।
एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। राष्ट्रिय सभातर्फ प्रदेश स्तरबाट प्रत्येक क्लस्टरका लागि बढीमा पाँच–पाँच जना सिफारिस गर्ने प्रावधान छ ।
पार्टी नेतृत्वले यी मापदण्डहरू कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ, सक्षम र जनमुखी उम्मेदवार मात्र मैदानमा उतार्ने प्रतिबद्धता जनाएको छ । परिपत्र सबै तहका कमिटीसम्म पुगिसकेको बताउँदै, यस कदमले निर्वाचनमा पार्टीको छवि थप बलियो हुने अपेक्षा गरिएको छ ।








