५ पुस २०८२, शनिबार

एमाले महासचिव शंकर पोखरेलले महाधिवेशनबारे सार्वजनिक गरे १० धारणा

प्रकाशित मिति :  20 December, 2025 11:56 am


काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन इतिहासमै भव्य, व्यवस्थित र ऐतिहासिक रूपमा सम्पन्न भएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले महाधिवेशनले पार्टीको गौरव र नेतृत्वकारी भूमिका थप सुदृढ गरेको उल्लेख गरे।

महासचिव पोखरेलका अनुसार महाधिवेशनले दिएको राजनीतिक सन्देश र पारित नीतिहरूलाई जनताको बीचमा प्रभावकारी रूपमा लैजानु अहिलेको मुख्य कार्यभार हो। महाधिवेशनबाट पारित नीतिकै आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन भएको उनको भनाइ छ।

११औँ महाधिवेशनमा उनले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै लगातार दोस्रो पटक महासचिवको जिम्मेवारी पाएका हुन्। महासचिवमा निर्वाचित भएपछि उनले आफूलाई विजयी गराउन भूमिका खेल्ने सम्पूर्ण नेता–कार्यकर्ता र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

महाधिवेशनबारे महासचिव पोखरेलले राखेका १० बुँदे धारणा यसप्रकार छन्—

१. एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक बन्न सफल भयो । भक्तपुर सल्लाघारीस्थित करिब १०० रोपनी क्षेत्रमा फैलिएको मैदान उद्घाटनका लागि साँघुरो देखिनु यसको प्रमाण हो ।

२. पार्टी र नेतृत्व, विशेषतः पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गर्‍यो ।

३. नयाँ पुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएकाले उल्लेख्य संख्यामा नवयुवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भए ।

४. प्रायः सबै पदमा प्रतिस्पर्धा भयो। विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरे, जसले पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनायो ।

५. आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत हो ।

६. महाधिवेशनको व्यवस्थापन चुस्त र दुरुस्त रह्यो । निर्वाचन प्रक्रियामा केही प्राविधिक समस्या आएर एक दिन लम्बिए पनि विगतका महाधिवेशनको तुलनामा छोटो समयमा सम्पन्न भयो ।

७. छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गरेका विचारले नेकपा (एमाले)को नेतृत्वकारी भूमिका स्थापित गर्‍यो ।

८. महाधिवेशन सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुभएका कमरेड विष्णु रिमालको निर्वाचनमा पराजय दुःखद पक्ष रह्यो। यसले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको भन्दै वैचारिक–राजनीतिक प्रशिक्षणको आवश्यकता औँल्याइएको छ ।

९. समग्रमा एघारौँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल रह्यो । यसले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको छ । महासचिव पदको प्रतिस्पर्धा पेचिलो भए पनि भ्रम र अफवाहका बीच कार्यकर्ता पंक्तिले दृढतापूर्वक सामना गर्दै विजय सुनिश्चित गर्‍यो ।

१०. महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ । ४० वर्षमुनिका नवयुवासहित करिब एकतिहाइ नयाँ केन्द्रीय सदस्यहरू निर्वाचित हुनु पार्टीको उज्यालो भविष्यतर्फको संकेत हो ।

महासचिव पोखरेलले महाधिवेशनबाट प्राप्त एकता, विश्वास र स्पष्ट कार्यदिशालाई संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा रूपान्तरण गर्न सबै तहका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !