६ पुस २०८२, आइतबार

विश्व ध्यान दिवसमा आज प्याब्सनले ‘विद्यालयमा ध्यान’ विषयक भर्चुअल कार्यक्रम गर्ने

प्रकाशित मिति :  21 December, 2025 10:36 am


काठमाडौँ । विश्व ध्यान दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले ‘विद्यालयमा ध्यान’ विषयक भर्चुअल कार्यक्रम आयोजना गर्ने भएको छ।

प्याब्सन केन्द्रीय कार्यसमितिअन्तर्गत आध्यात्मिक विभागको आयोजनामा उक्त कार्यक्रम आज गर्ने भएको हो ।

भर्चुअल कार्यक्रम साँझ ६:४० बजेदेखि ८:३० बजेसम्म जुममार्फत सञ्चालन हुनेछ।

कार्यक्रममा ध्यान तथा कीर्तनसहित विद्यालय तहमा ध्यान अभ्यासको आवश्यकता, यसको शैक्षिक महत्त्व र विद्यार्थीको मानसिक स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे विस्तृत विचार–विमर्श गरिनेप्याब्सनका महासचिव तथा आध्यात्मिक विभागका संयोजक आर.बी. कटवालले बताए ।

पछिल्लो समय विद्यार्थीहरूमा बढ्दो मानसिक दबाब, तनाव र एकाग्रताको समस्यालाई ध्यान अभ्यासमार्फत कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

प्याब्सनले जिल्ला तथा प्रदेश कार्यसमितिअन्तर्गतका सदस्य विद्यालयका संस्थापक, प्राचार्य तथा शिक्षकहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

संगठनका अनुसार यस किसिमका कार्यक्रमले विद्यालय शिक्षामा मानसिक स्वास्थ्य र जीवनोपयोगी सीपलाई प्राथमिकता दिन सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमको संयोजन प्याब्सनका महासचिव तथा आध्यात्मिक विभागका संयोजक कटवालले गर्ने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !