७ पुस २०८२, सोमबार

प्रतिनिधिसभा निर्वाचन तयारीबारे आज आयोग : प्रधानमन्त्री र दलबीच छलफल हुँदै

प्रकाशित मिति :  22 December, 2025 8:34 am


दाङ (देउखुरी) । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न लागेको छ ।

फागुन २१ गते तय गरिएको निर्वाचनलाई लक्षित गर्दै आयोगले तयारी, चुनौती र समन्वयका विषयमा साझा छलफल सुरु गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे हुने छलफलमा निर्वाचन आयोग ले हालसम्मको चुनावी तयारीबारे दलहरूलाई जानकारी गराउनेछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार बैठक आगामी निर्वाचनलाई निष्पक्ष, सुरक्षित र विश्वसनीय बनाउने विषयमा केन्द्रित हुनेछ ।

छलफलमा मतदाता व्यवस्थापन, निर्वाचन सामग्री, मतदान प्रक्रिया तथा सम्भावित जोखिमबारे आयोगको तयारी प्रस्तुत गरिनेछ । यसले दलहरूलाई चुनावी कार्यतालिका र व्यवस्थापनबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।

राजनीतिक दलका शीर्ष नेतासँगै सुरक्षा निकायका प्रतिनिधिहरूलाई समेत बैठकमा आमन्त्रण गरिएको छ । आयोगले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्रबीच समन्वय बलियो बनाउने रणनीति अघि सारेको संकेत यसबाट देखिन्छ ।

चुनावी मिति नजिकिँदै जाँदा आयोग र दलबीचको यो संवादलाई निर्वाचनप्रति साझा जिम्मेवारी र विश्वास निर्माणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !