७ पुस २०८२, सोमबार

समयमै निर्वाचन नहुँदा देश ठूलो अनिश्चयतर्फ जानसक्छ- महामन्त्री थापा

प्रकाशित मिति :  22 December, 2025 1:50 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने अनिश्चय फैलिएको उल्लेख गर्दै संविधानलाई सही मार्ग (ट्रयाक) मा फर्काउन समयमै निर्वाचन अपरिहार्य रहेको धारणा राखे।

महामन्त्री थापाका अनुसार अहिलेको प्रमुख विषय चुनावको परिणाम कस्तो आउँछ भन्ने होइन, निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार गठन गर्नु हो।

“परिणाम हाम्रो आन्तरिक विषय हो-छलफल गर्छौं, मेहनत गर्छौं,” उनले भने, “तर फागुन २१ गते चुनाव हुनु किन महत्वपूर्ण छ भने संविधान लिकभन्दा बाहिर गएको छ, त्यसलाई लिकमा फर्काउन निर्वाचन नै माध्यम हो।”

उनले हरेक पाँच वर्षमा निर्वाचन हुनुपर्ने व्यवस्था २०१५ सालदेखि नै निरन्तर लागू हुन नसकेको स्मरण गराउँदै, यदि त्यसबेला निरन्तर निर्वाचन भएको भए नेपाल आज फरक स्थानमा पुगिसक्ने तर्क गरे । संवैधानिक राजतन्त्रको सन्दर्भमा पनि उनले “कुनै फरक नपर्ने” टिप्पणी गरे ।

महामन्त्री थापाले समयमै निर्वाचन नभए देश ठूलो अनिश्चयतर्फ धकेलिन सक्ने चेतावनी दिँदै, निर्वाचनले नयाँ संसद ल्याउने र नयाँ संसदले क्रमशः संवैधानिक जिम्मेवारी पूरा गर्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !