७ पुस २०८२, सोमबार

निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेता पुन

प्रकाशित मिति :  22 December, 2025 5:09 pm


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले सरकारले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न गराउने प्रतिवद्धता सराहनीय भएको बताएका छन्।

उनले राजनीतिक दलहरूले सरकारलाई आवश्यक सहयोग पुर्‍याएर निर्वाचन समयमै सम्पन्न गराउनुपर्ने बताएका हुन् ।

सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा बोल्दै पुनले भने, “घोषित मितिमा निर्वाचन सम्पन्न गराउने विषयमा सरकारको कमिटमेन्ट सराहनीय छ। हाम्रो दलको तर्फबाट यसका लागि सरकारलाई आभार व्यक्त गर्न चाहन्छौँ। प्रारम्भमा सरकारले निर्वाचन वैशाख–जेठतिर सार्न खोजेको भन्ने आशंका थियो, तर अहिले त्यसो नभएको देखिन्छ। प्रमुख राजनीतिक दलहरू चुनावी प्रक्रियामा सहभागी भइसकेका छन्, त्यसैले उनीहरूलाई अझ प्रोत्साहित गर्न आवश्यक छ। जेनजी समूहहरू पनि प्रक्रियामा सहभागि हुन आउनु खुशीको कुरा हो। हामी निर्वाचनका लागि सरकारलाई सहयोग गर्न तयार छौँ।”

उनले खेल सुरू भएपछि नियमहरू बदलिनु हुँदैन, नत्र विवाद उत्पन्न हुनसक्ने भन्दै सरकारले यदि ६ महिनाभन्दा बढी समयसम्म संविधानविपरीत कदम चाल्ने प्रयास गरे, भने नेकपाले समर्थन नगर्ने स्पष्ट पारेका छन्। “यदि ६ महिनाभित्र नयाँ संसद आउँदैन भने सडकले निर्णय गर्नेछ वा पुरानो संसद पुनःस्थापित हुनेछ। यी कुरामा हामी स्पष्ट छौँ,” उनले थपे ।

पुनले निर्वाचनको वातावरण निर्माण गर्न सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संवादलाई निरन्तरता दिनुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !