समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरूको आशंका
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूको फागुन २१ गते तोकिएको निर्वाचन समयमै सम्पन्न हुनेमा नागरिक अगुवाहरूले आशंका व्यक्त गरेका छन्।
सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वपक्षीय वार्तामा उनीहरूले आफ्नो धारणा राख्दै निर्वाचन प्रक्रिया कठिन परिस्थितिमा रहेको बताए।
नागरिक अगुवा सूर्यप्रसाद श्रेष्ठले आन्दोलनले नयाँ सरकार गठन गरेको र सरकारसँग यसको उत्तरदायित्व रहेको तर बाह्य हस्तक्षेप वा निर्वाचन आयोगमा सरकारी हस्तक्षेप भए मुलुकले समयमै निकास नपाउने जिकिर गरे । उनले भने, “निर्वाचन तोकिएको अवधिभित्र सम्भव नहुने अवस्था छ। सरकारको काम राजनीतिक समन्वय, सबैलाई सहभागी गराउने र डरको वातावरणबाट उन्मुक्ति दिलाउने हुनुपर्छ।”
पूर्वमन्त्री तथा नागरिक अगुवा माधवप्रसाद पौडेलले विदेशमा रहेका नेपाली मतदाताको नामावली संकलन भए पनि मतदान केन्द्र कहाँ राख्ने भन्ने प्रश्न रहेको बताए। उनले अन्तरप्रदेश मतदानमा सुरक्षा चुनौती रहेको र १६५ स्थानमै निर्धारित अवधिभित्र निर्वाचन सम्भव नहुने पनि बताए । उनले अन्तरिम सरकारले गरेको निर्वाचन सर्वस्वीकार्य नहुँदा परिणाम नकारात्मक हुने चेतावनी पनि दिए ।
कनकमणि दिक्षितले अन्तर्राष्ट्रिय मान्यताअनुसार निर्वाचन घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन नगर्नुपर्नेमा जोड दिए । उनले फागुन २१ गतेको निर्वाचन नहुँदा मुलुक अनिश्चिततामा जाने र संविधान संशोधनका लागि यो निर्वाचन महत्वपूर्ण भएको पनि औँल्याए ।
राधेश्याम अधिकारीले निर्वाचन प्रक्रिया सुरु भएपछि कानून परिवर्तन गर्नु ठिक नभएको बताउँदै, “खेलको नियम बिगारी अघि बढ्न नहुने, अध्यादेशमार्फत कानून संशोधन गर्ने समय अहिले होइन,” भने। उनले विदेशमा बस्ने नेपालीको मतदान संवेदनशील विषय भएकाले कुनै हालतमा फागुन २१ गते निर्वाचन सम्भव नहुने अवस्था रहेको स्पष्ट पारे ।
कार्यक्रममा उपस्थित अन्य नागरिक अगुवाहरुले विदेशमा रहेका करिब ४० लाख नेपालीलाई मतदानबाट वञ्चित नगर्नुपर्ने सुझाव समेत दिएका छन्।








