प्रमुख दलसँग संवाद गरेर निर्वाचन सम्पन्न गराउनुपर्ने सहमहामन्त्री यादवको माग
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएका छन्।
सोमबार सिंहदरवारमा प्रधानमन्त्री कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा यादवले सरकारले राजनीतिक दलहरूप्रति दुश्मनी नराखी आवश्यक वातावरण तयार गर्न ढिलाइ नगर्न सुझाव दिए। उनले निर्वाचनका लागि पर्याप्त सुरक्षाको व्यवस्थासहित निष्पक्ष निर्वाचन सम्पन्न गराउन सरकारलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
उनले भने, “सुरक्षाको व्यवस्था भएन भने विगतमा धेरै चुनाव नेपाली काँग्रेसको नेतृत्वमा भएको छ। काँग्रेसको नेतृत्वमा चुनाव हुँदा हाम्रो प्रधानमन्त्रीले पनि चुनाव हारेको छ, तर हामीले निष्पक्ष निर्वाचन गराएका छौँ। अहिले यो सरकारबाट पनि सोही प्रक्रिया अपनाइयोस्। कसैले रिसीभी साँध्ने काममा सरकार नजाओस्। डेमोक्रसीको मूल आधार राजनीतिक दलहरू नै हुन्। त्यसैले राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि कुरा गर्नुपर्छ।”
सहमहामन्त्री यादवले अहिले ल्याउन खोजिएको कानून राम्रो भए पनि समयले त्यसलाई साथ नदिने र लोकतन्त्रमा राजनीतिक दलहरूलाई बेवास्ता गरेर कुनै पनि गतिविधि अघि बढाउन नहुने पनि बताए ।








