काँग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ : डा. शेखर कोईराला
काठमाडौँ । डा. शेखर कोईरालाले नेपाली काँग्रेसको महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता कोईरालाले काँग्रेसको महाधिवेशनबारे सबैमा चासो देखिएको उल्लेख गर्दै महाधिवेशन कुनै नौलो विषय नभएको स्पष्ट पारे । उनले महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया भएकाले यसबारे सञ्चारमाध्यमले अत्यधिक चासो देखाउन आवश्यक नरहेको बताए ।
आफू महाधिवेशन सार्ने पक्षमा नरहेको प्रष्ट पार्दै उनले क्रियाशील सदस्यता वितरणमा देखिएका प्राविधिक समस्याका कारण प्रक्रिया केही समय ढिलाइ भएको उल्लेख गरे । विशेषगरी सिरियल नम्बर नपरेका क्रियाशील सदस्यता देशभर पठाइएको विषयले समय पर धकेलिएको उनको भनाइ छ।
‘‘म त पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा छु,’‘ नेता कोईरालाले भने, ‘‘महाधिवेशन सार्न खोजिएको होइन। क्रियाशील सदस्यता वितरणका क्रममा देखिएको त्रुटि मेरो कारणले भएको होइन। थाहा पाएपछि म झनै चनाखो भएको हुँ।’‘
नेता कोईरालाले सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोके पनि हालको अवस्थामा निर्वाचन सम्भव नदेखिएको टिप्पणी गरे । उनले देशमा निर्वाचनको आवश्यक माहोल कतै नदेखिएको भन्दै निर्धारित समयमा चुनाव हुनेमा शंका व्यक्त गरे ।








