९ पुस २०८२, बुधबार

राजदूत फिर्ता संकेतले नेपालको भू–राजनीति संवेदनशील- महासचिव पोखरेल

प्रकाशित मिति :  24 December, 2025 7:04 am


काठमाडाैँ । प्रमुख शक्ति राष्ट्रका राजदूतहरू एकसाथ फिर्ता हुने संकेतले नेपालको भू–राजनीति निकै संवेदनशील चरणमा प्रवेश गरेको देखिएको छ । यस विषयमा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशका लागि यस्ता घटनाक्रमलाई हल्का रूपमा लिन नहुने बताएका छन् ।

उनका अनुसार शक्ति राष्ट्रहरूका कूटनीतिक गतिविधिमा देखिएको यो समन्वित परिवर्तनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति नयाँ मोडतर्फ जान सक्ने संकेत गर्दछ।

पोखरेलले नेपालको भू–रणनीतिक अवस्थाले सधैँ सन्तुलित, सजग र विवेकपूर्ण परराष्ट्र नीति आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान अवस्थामा राज्यका निकायहरू थप सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले यस्तो संवेदनशील घडीमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक निर्णय लिनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । “नेपालको भू राजनीति निकै संवेदनशील अवस्थामा रहेको संकेत प्रमुख शक्ति राष्ट्रका राजदुतहरुको एकसाथ फिर्तिको योजनाबाट बुझ्न सकिन्छ”, महासचिव पाेखरेलले लेखेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार पनि प्रमुख शक्ति राष्ट्रहरूको कूटनीतिक गतिविधि एकै समयमा परिवर्तन हुनु सामान्य विषय नभएकाले यसले नेपालमाथि पर्नसक्ने सम्भावित प्रभावबारे गम्भीर छलफल र तयारी आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !